काठमाडौं । बिमांक लिन चोरीको नाटक गर्दै जाहेरी दिने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।
वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बिमाबापतको रकम लिन चोरीको नाटक गरेकोे खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी पर्यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित गर्यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बिमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’
प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशाला नामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ ।
घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ गर्यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।
डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ ।
तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ गर्यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस