काठमाडौं । आइतबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका केही स्थानमा नदीको सतह भरिएर बस्तीमा बाढी पसेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका खोलाहरूमा पानीको सतह बढ्दा आसपासमा रहेका बस्तीहरूमा बाढी पसेको हो । हिजो सोमबार उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।
बाग्मतीमा आएको बाढीका कारण थापाथलीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ भने भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीका कारण किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण बाग्मती खोलाका आसपासमा रहेका करिडोर सडकसमेत कतिपय स्थानमा डुबानमा पर्यो ।
बाग्मतीमा आएको बाढीले टेकु आसपासका बस्तीमा समेत असर पु(याएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाग्मतीमा आएको बाढीका कारण टेकुका २९ घरपरिवार प्रभावित भएका छन् भने ७ घरपरिवारलाई विश्वनिकेतन स्कुलमा सारिएको छ ।
यसैगरी, विष्णुमती नदीमा आएको बाढीका कारण कालिमाटी क्षेत्रका १० घरपरिवारलाई कालिमाटीको सतल पाटीमा सारिएको एसएसपी यादवले जानकारी दिए । यस्तै, भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्रका धेरैजसो स्थान प्रभावित भएको छ । बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुर नगरपालिकाका–१, ३ र ४ क्षेत्र बढी प्रभावित भएको हो ।
ती वडाहरूमा घरभित्र समेत पानी पसेको थियो । वडा–१ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनीमा लगाइएको धानबाली समेत पानीले डुबाएको छ । भक्तपुर प्रहरीका अनुसार हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी पसेको हो ।
यसैगरी, कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदी बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुमबासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । उनीहरूलाई रमण कसट्रक्सनमा लगेर राखिएको छ ।
यस्तै, बाढीका कारण ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सडक अवरुद्ध भएको छ । चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ । पुल हाउसको पर्खाल भत्किँदा २ लाखको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उपत्यकाका जोखिम बस्ती
उपत्यकाका बाग्मती नदी, विष्णुमती नदी, गोदावरी, हनुमन्ते, टुकुचा खोला, मनोहरा खोलासँगैका तटीय क्षेत्र बढी जोखिममा छन् । ती स्थानमा तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनालाई जोखिमका मुख्य कारण मानिएको छ । यस्तै, नक्सा पासबिना बनाइएका संरचनासमेत जोखिमको कारक मनिएका छन् ।
काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोरका बस्ती, टुकुचा खोलाको आसपास, तारकेश्वर नगरपालिकाको जरंखु तथा शान्ति टोल, गुम्बा, नयाँ पुल करिडोर, धोबी खोला, मैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास डुबानको उच्च जोखिममा छन् ।
यस्तै, कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म बाग्मती नदी किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ ।
दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा इलाका पहिराका उच्च जोखिममा रहेको मानिएको छ ।
यसैगरी, शान्तिनगर, सुकुमबासी बस्ती, शंखमूल र बुद्धनगर बाग्मती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर पनि जोखिमको सूचीमा छन् ।
भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुमबासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिममा छन् ।
ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउँचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्रलाई समेत जोखिम क्षेत्रमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस