
काठमाडौं । मध्य धान रोप्ने बेलामा युरिया मल नभएपछि विशेषतः तराईका किसानहरू मर्कामा परेका छन् । पहाडमा मलको त्यति हाहाकार नभएपनि तराईमा भने मलको ठूलै अभाव भएको छ । तराईमा धान रोपिसकेपछि मल राख्ने प्रचलन भएपनि साउन लाग्दा समेत मल नपाएर किसानहरू मर्कामा परेका छन् ।
कृषि विभागको तथ्यांक अनुसार असार ३१ गतेसम्म औसतमा ४० प्रतिशतभन्दा बढी रोपाइ भइसकेको छ । रोपाई गर्ने यो अवधिमा जहिले पनि यसरी नै मलको हाहाकार हुने गरेको छ । यो यस वर्षको मात्रै समस्या होइन ।
रोपिएको धानमा यदि समय मै मल राख्न नपाएको दुखेसो किसानहरूले गरेको राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए । ‘दुःख त्यतिकै जाने होकी भनेर किसानहरू चिन्तित बन्न थालेका छन्,’ उनले भने ‘विशेषतः पहाडमाभन्दा तराई युरिया मलको अभाव धेरै देखिएको छ ।’
किसानहरूले बर्सेनि धान रोप्ने बेलामा युरिया मलको चर्को समस्या खेप्दै आएका थिए, यस वर्ष अझ चर्को समस्या झेल्नुपर्ने देखिएको छ । रासायनिक मल ल्याउने जिम्मा पाएका सार्वजनिक संस्थाले समयमा मल नल्याउँदा अहिले किसानहरूले धान रोपिसकेपछि पनि मल राख्न नपाएका हुन् । हाल नेपालमा ५ लाख मेट्रिक टन मल आवश्यक पर्छ । नेपालमा कुल धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टर छ । नेपालमा वार्षिक रूपमा ४६ लाख ९२ हजार टन चामलको माग छ ।
के भन्छन् मल ल्याउने जिम्मा पाएका सरकारी संस्थान
सरकारी स्वामित्वमा सञ्चालित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कोभिड–१९ कारण भएको लकडाउनले समयमा युरिया मल आपूर्ति गर्न नसकेको बताएका छन् । यी दुबै सार्वजनिक संस्थानले कोभिड–१९ संक्रमणको जोखिम र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको बताएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले युरीया मल नभएको बताए । तर, साल्ट ट्रेडिङ कर्पोरेसनसँग भने अहिले पनि ३० हजार स्टक रहेको बताएको छ । कृषि सामग्री कम्पनीका पोखरेलकअनुसार कम्पनीसँग डीएपी मल छ । ‘अहिले पनि डीएपी मल २२/२३ हजार मेट्रिक टक स्टक छ,’ उनले भने तर, युरिया मल भने छैन ।’ ५० हजार मेट्रिक टन युरिया मलको टेण्डर प्रक्रिया अघि बढेको छ । मल आउन अझै २ महिना लाग्ने पोखरेलले बताए ।
साल्ट ट्रेडिङले फागुनमा यूरिया मल आयातको लागि टेण्डर गरेर २१ हजार ५ सय मेट्रिक टन मल ल्याउन लागिएको भएपनि अहिलेसम्म लकडाउनका कारण अहिलेसम्म नेपालसम्म मल नआइपुगेको कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए । साल्ट ट्रेडिङसँग अहिले पनि युरिया ३० हजार र डिएपी २० हजार मल स्टक रहेको छ ।
‘लकडाउनका कारण भारतको कलकत्ता पोर्टमा मल अड्किएको र ट्रेनबाट मल ल्याउने प्रक्रियामा जाँदा भारतकै कन्डला पोर्टमा मल पुर्र्याएको तर, अनलोड गर्ने मान्छे नपाएर फेरि नेपाल ल्याउन नसेको प्रवक्ता राजभण्डारीले बताए । अहिले पुनः उक्त मल ल्याउने प्रक्रिया शुरु भएको र साउन १५ गतेभित्र नेपाल आइपुग्ने उनले बताए ।
‘हामीले ट्रेनबाट भएपनि मल ल्याउने प्रक्रिया अघि बढाएका थियौ,’ उनले भने ‘ नेपाल र भारतबीचको मल यसरी ल्याउने सम्झौता नभएका कारण ल्याउन मिलेन । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण भारतको बन्दरगाहमा लोड अनलोड गर्ने, प्याकिङ गर्नेलगायत काम गर्ने कामदार नपाइँदा समयमा मल आपूर्ति नभएको उनको भनाइ छ ।
ओमानबाट गुजरातको काब्ला बन्दरगाहमा आइपुगेको कर्पोरेशन युरिया नेपाल भित्र्याउन सरकारले भारतीय सरकारसँग सहजीकरण गरिदिन पत्राचारसमेत गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन तीन महिनाअघि नेपाल आइपुग्ने गरी धानबालीलाई भनेर ओमानसँग खरिद गरेको मल लकडाउनका कारण सयममानै नेपाल नआइपुगेको हो ।
किन हुन्छ जहिले पनि मल आयात ढिला
समयमा बजेट निकासा नहुनु मल आयातको लागि मुख्य समस्या भएको सरोकारवालाहरू बताउँछन् । ढिला गरी निकास भएको बजेट र ग्लोबल टेण्डर प्रक्रिया र कमिशनका कारणले मल आयात गर्न ढिला भइरहेको हो । कमिशनका कारणले वर्षौदेखि आयत यसरी नै ढिला हुने गरेको छ भने किसानहरूले मुख्य धान बाली लगाउने बेलामा कहिले पनि सहज ढंगबाट मल पाएका छैनन् । सरकारले मलमा ६० प्रतिशतसम्म अनुदान दिँदै आएको छ ।
कति छ बजेट
गत वर्ष बजेटमा छुट्याएको साढे सात अर्बमा पुन सरकारले २ अर्ब थप गरेको थियो । सरकारले मलमा अनुदान दिन थप २ अर्ब थपेर साढे नौ अर्ब बजेट पुर्याए पनि मलको समस्याको जस्ताको तस्तै छ । मल आयात गर्न नसकेका कारण एकातिर बजेट फ्रिज हुने अवस्थामा पुगेको छ भने अर्कोतिर किसान मल नपाएर च्यापच्याप्तीमा परेका छन् । सरकारले चालु आवको लागि भने मल अनुदानमा ११ अर्ब रुपैयाँ छुट्याएको छ ।
कालो बजारीमा मल
पछिल्लो समय किसानहरूले मल नपाएपछि सीमावर्ती क्षेत्र भारतबाट मल ल्याएर ७/८ सय पर्ने प्रतिबोरा (४० किलो) मलको २ हजारसम्म लिएर बिक्री भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस