
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली उड्डयन माथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् । कोडी आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी ब्रसेल्स र्फकन लागेको अवसरमा सोमबार अर्थमन्त्रीसँग विदाई भेट गरेकी थिइन् ।
भेटमा अर्थमन्त्री खतिवडाले युरोपमा नेपाली जहाज उड्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सहित हवाई सुरक्षासम्बन्धी काममा सरकारले उच्चप्राथमिकता दिएको भन्दै नेपाल यूरोपेली युनियनको प्रतिबन्धबाट फुकुवा हुनुपर्ने माग गरेका हुन् । युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा पनि युरोपियन युनियनले नेपालको तर्फबाट युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिनुपर्ने बताएका हुन् ।
अर्थमन्त्रीले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद दिदैं निरन्तर सहयोगका लागि अनुरोध गरे । उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस