
युरोपेली युनियनका नेताहरू लामो छलफल पछि कोरोना भाइरस रिकोभरि प्याकेजको राशि तय गर्न सफल भएका छन् । अब २७ देशको यो संगठन ७५० अर्ब युरोको फन्ड तयार गरेर कोरोनाले पुर्याएको आर्थिक नोक्सानबाट बाहिर निस्किने प्रयत्न गर्नेछन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएअनुसार छलफलको क्रममा कोरोनाबाट अति प्रभावित र कमजोर अथै व्यवस्था भएका युरोपका मुलुकहरू बिच दरार उत्पन्न भएको थियो । तर, नयाँ सहमति अनुसार सो फन्डबाट ३ सय ९० अर्ब युरो ती मुलुकहरूलाई अनुदान स्वरूप दिनेछ जुन कोरोनाबाट अति प्रभावित छन् ।
यसबाहेक युरोपेली युनियनले आगामी ७ वर्षको बजेटसमेतमा सहमति जुटाएको छ । जुन १.१ ट्रिलियन युरोको हुनेछ । गत शुक्रवार शुरु भएको यो सम्मेलनमा जम्मा ९० घण्टा छलफल भएको थियो ।
समाचारमा उल्लेख भएअनुसार स्वघोषित कमजोर अर्थव्यवस्था भएका देशहरू स्विडेन, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र फिनल्यान्डले अनुदानको रूपमा ठुलो राशि खर्च गर्ने प्रस्तावको विरोध गरेका थिए । यो समूहले डेनमार्कका राष्ट्रपति मार्क रुटेको नेतृत्वमा अनुदानका लागि ३७५ अर्ब युरोको सीमा तय गरेका थिए । तर, कोरोनाबाट अति प्रभावित स्पेन र इटालीले ४ सय अर्ब भन्दा कम हुनु नहुने अडान राखे । अन्ततः ३९० अर्बमा सहमति भयो ।
प्रतिक्रिया दिनुहोस