काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०७६र०७७ को बजेट अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा पनि राजनीतिक अंक गणितको सिकार भएको बताएका छन् ।
अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै वाग्लेले बजेट अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा राजनीतिक अंक गणिततर्फ बढी केन्द्रित भएको प्रतिक्रिया दिए। ‘बजेटले अर्थतन्त्रको आकार बलियो बनाउनेभन्दा पनि राजनीतिक अंक गणितलाई प्राथमिकता दिएको देखियो, सरकारले बजेटमा वाहीवाही पाउन सकेन,’ वाग्लेले भने ।
उनले सरकार शक्तिशाली भए पनि बजेट शक्तिशाली आउन नसकेको र सरकारले अर्थतन्त्रको नयाँ आधार बनाएर पूर्वाधार निर्माण तथा स्थिरताको बाटो लिनुपर्नेमा बजेटबाट सरकारले सो बाटो पहिल्याउन नसकेको दाबीसमेत गरे ।
उनले कर्मचारी र सांसदलाई रिझाउनेतर्फ मात्रै बजेट केन्द्रित भएको भन्दै सरकारको बजेटमा देखाएको अल्पकालीन लोकप्रियताका कारण राज्यले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए ।
उनले विकासका लागि ऋण र सहयोग नै लिनुपर्ने अवस्था बजेटले देखाएको भन्दै यही आधारमै विकास र समृद्धि प्राप्त नहुने दाबीसमेत गरे । आजको राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस