
काठमाडाैं । पार्टीभित्रको शक्ति संघर्षको किचलोका कारण पटक पटक स्थगीत हुँदै आएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
साउन १३ गते ११ बजे बालुवाटारमा बैठक बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलबार केहीबेर स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्रलाभको कामना गरेको उनले बताए ।
क्षति भएका सडक, पुलहरू निर्माण र पहिरोमा घरबारविहीनहरूलाई अस्थायी बसोबासको प्रबन्ध तथा राहत उपलब्ध गराउन स्थायी कमिटीले सरकारलाई आग्रह गरेको छ ।
प्राकृतिक विपदबारे एउटा प्रस्तावमा छलफल गर्दै आज बैठक सकिएको थियो । बैठकपछि पत्रकारहरूसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले देशैभर बाढी-पहिरोबाट जनधनको क्षति भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको बताए ।
बाढी-पहिरोबाट दुई सय ३३ जनाको मृत्यु भइसकेको र ९८ जना घाइते भएको उनले जानकारी दिए । दुई सय ८२ घर पूर्ण रूपमा क्षति भएको श्रेष्ठको भनाइ छ ।
आजको स्थायी कमिटी बैठकले बाढी-पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षणसमेत गरेको उनले बताए ।
पार्टीका कार्यकर्तालाई बाढी-पहिरोमा परेकाहरूको उद्धारमा परिचालन गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए ।
आजको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । यसबारे पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले अन्य कामले गर्दा प्रधानमन्त्री थकान लागेकोले बैठकमा अनुपस्थित रहेको बताए ।
बैठक बस्नुअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उक्त भेटमा आज स्थायी कमिटीको बैठकमा के गर्ने? भन्ने सन्दर्भमा नै कुराकानी भएको श्रेष्ठले बताए ।
पार्टीभित्र देखिएका विवादबारे छलफल जारी नै रहेको र कुनै सहमतिमा नपुगेको उनले बताएका छन्। स्थायी कमिटी बैठक छ महिनासम्म चल्ने हो? भन्ने प्रश्नमा उनले वर्षाले एक साता पर धकलिए पनि गृहकार्य भइरहेकोले छिट्टै बैठक टुंगोमा पुग्ने उनले बताए ।
उनले पार्टी एकता रक्षा गर्ने गरी नै निकास दिने बताए । मंसिरमा महाधिवेशन गर्नेबारे आज कुनै छलफल नभएकोसमेत उनले जनाए ।
प्रतिक्रिया दिनुहोस