
काठमाडौं । न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ ।
त्यसैगरी तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको छ । न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि काजमा तानिएका दुवै न्यायाधीशलाई अनुसन्धानपछि कारबाही गर्ने निर्णय गरिएको हो ।
२०४७ सालदेखि न्यायसेवामा आएका आत्रेयलाई कार्यक्षमताको अभाव भएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । आत्रेयलाई सिराहको लेनदेन मुद्दामा बिगोम्बिन्धी आदेश गरेको विषयमा त्रुटि देखिएको भन्दै कारवाही गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस