aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

काठमाडौं । काठमाडौं महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए । 

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक गरेको रहस्य खुलेको हो । रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस