काठमाडाैं । पत्नीको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला आज रिहा भएका छन् ।
डिल्लीबजार कारागारमा सजाय काटिरहेका उनी मध्याह्न १२ बजेतिर रिहा भएका हुन्। कोइरालाको आजीवन कारावासको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि उनी थुनामुक्त भएका हुन् ।
सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले बुढानीलकण्ठस्थित घरमा पत्नी गीता ढकालको हत्या गरेका थिए । हत्यापछि गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको तीन तहकै अदालतमा पुष्टि भएको थियो ।
काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई सर्वश्वसहित जन्मकैदको सजाय गरेका थिए, त्यस विरूद्ध कोइराला सर्वोच्च अदालत पुगेका थिए ।
१५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाइदिएको हो ।
सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे ८ वर्ष मात्रै कैद गर्दा पनि 'सजायको मकसद पूरा हुने' भन्दै कैद घटाउने निर्णय गरे अनुसार उनी ८ वर्ष ६ महीना कैदमा बसेर आज रिहा भएका हुन् । कोइराला ८ माघ २०६८ मा पक्राउ परेका थिए ।
डिल्लीबजार कारागारबाट थुनामुक्त भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छन् ।
यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।
बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् ।
प्रतिक्रिया दिनुहोस