aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह वित्त मन्त्री बन्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह वित्त मन्त्री बन्ने सम्भावना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउन लागेका हुन् । हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि दिल्ली जाँदैछन् । सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने बीबीसी हिन्दीले जनाएको छ । 

सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् । थाइल्याण्ड र कीर्गिस्तानका सरकार प्रमुखलाई पनि सपथग्रहण समारोहमा बोलाइएको छ । तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन । अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए । यो पटक भने भारतले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरुलाई निम्ता दिईएको हो । 

यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । सन् २०१४ मा ३५ मन्त्रीहरुले सपथ ग्रहण गरेका थिए । तर पछि बढेर मन्त्रीहरुको संख्या ७६ पुगेको थियो ।

सपथग्रहण समारोहमा सबै मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ, तर पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी र ओडिशाका मुख्यमन्त्री नवीन पटनायक भने सहभागी नहुने भएका छन् । यसपटक भाजपाका अध्यक्ष अमित शाह पनि मन्त्री बन्ने सम्भावना बढेको छ । भारतीय मिडियाले शाहलाई वित्त मन्त्रीका रुपमा चित्रण गरेका छन् । तर, मन्त्रालय टुंगो लागेको छैन ।  
 

प्रतिक्रिया दिनुहोस