काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजारमैत्री आएपछि लगानीकर्तामा उत्साह थपिएको छ ।
पुँजीगत लाभकरको दर घटाएर ५ प्रतिशतमा झार्ने, गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने, भारित औसत लागत (वेटेड एभरेज) विधिबाट कर लागू गरिने, बिग मर्जर वा बैंक मर्जरलाई प्रोत्साहन गर्न आयकरमा छुट दिने, लगानीयोग्य रकम (तरलता) को अभावको समस्या समाधान गर्न पहल गर्ने र यसले कर्जाको ब्याज घट्नेलगायतको व्यवस्था बजेटमा गरिएकाले शेयर बजार उकालो लाग्ने संकेत देखिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार ल्याएको बजेटमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन् । बजेट शेयर बजारका लगानीकर्ताका लागि कोशेढुंगा सावित भएको बिज्ञहरुको भनाइ छ ।
अर्थमन्त्री खतिवडा शेयर बजारमैत्री नभएको आरोप लागिरहेका बेला उनले बजारलाई उत्थान गर्ने कार्यक्रम ल्याएर लगानीकर्तालाई आश्चर्यमा पारेका छन् । शेयर बजारमैत्री बजेट नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण शेयर बजार खासै बढ्न सकेको थिएन । शेयर बजारमा सबैभन्दा राम्रो कुरा त बजेटमा पुँजीगत लाभकर ५ प्रतिशतमा झारिएको छ । लगानीकर्ताले यस्तै पुँजीगत लाभकर घटाउन बारम्बार अर्थमन्त्री खतिवडा, नेपाल धितोपत्र बोर्डलाई दबाब दिँदै आएका थिए । यसअघि व्यक्तिगत लगानीकर्ताले ७.५ प्रतिशत लाभकर तिर्ने गरेकोमा बजेटमार्फत घटाएर ५ प्रतिशतमा सीमित गरिएको छ । यसबाट लगानीकर्ताले तिर्नुपर्ने करको दर घट्ने भएको छ । शेयर कारोबारमा उत्साह थपिनेछ ।
बजेटमा दोस्रो महत्वपूर्ण कुरा, शेयर कारोबारमा भारित औसत लागत ( वेटेड एभरेज) विधिबाट कर लागू गरिने भएको छ । यसअघि हकप्रद र बोनसमा आधार विन्दुबाट लागू गर्ने तयारी गरिएकोमा लगानीकर्ताले व्यापक विरोध गरेपछि सरकार पछि हटेर यस्तो व्यवस्था गरेको हो । यसले पनि शेयर बजार सुधारमा इँटा थप्ने काम गर्ने छ ।तेस्रो महत्वपूण कुरा गैरआवासीय नेपालीले शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ । यसले पनि शेयर बजारमा लगानी भित्रिने र बजार बढने अनुमान गरिएको छ ।
चौथौं कुरा बजेटमा बिग मर्जरलाई प्रोत्साहन गर्ने भनेको छ । बैंक तथा वित्तीय संस्था मर्जमा जानका लागि आयकरको छुटको व्यवस्था समेत गरेको छ । पहिला हकप्रद शेयर दिएर बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाएका थिए । तर, अब चुक्ता पुँजी बढाउन कि त मर्जरमा जानु पर्याे कि त बोनस शेयर दिएर चुक्ता पुँजी वृद्धि गर्नु पर्याे ।
हकप्रदबाट चुक्ता पुँजी वृद्धिलाई निरुत्साहित गर्ने तयारी नेपाल राष्ट बैंकले गरेको छ । अब बैंकहरुले नगद कम र बोनस शेयर बढी दिने भएकाले पनि शेयर बजार सुधार हुने बिज्ञहरुको भनाइ छ ।
यसैगरी तरलताको अभावलाई कम गर्ने उपायका रुपमा सुनचाँदीलाई निक्षेपको रुपमा गणना गरिनेलगायतका प्रावधानले पनि शेयर बजार बढने अनुमान गरिएको छ ।यसअघि अर्थमन्त्री खतिवडाको पृष्ठभूमि पुँजी बजारमैत्री नभएको भन्दै शेयर बजार ओरालो लाग्न पुगेको थियो । लगानीकर्ताको लागेको दबाबपछि उनले शेयर बजारमैत्री बजेट ल्याएका छन् ।
अर्थशास्त्री सन्तोष आचार्यका अनुसार यो बैंकहरुले कर्जा, पुँजी र निक्षेप (सीसीडी) अनुपातमा नगदको हिस्सा घटाउने र यसैलाई आवश्यक निक्षेपको रुपमा गणना गर्ने भन्ने योजना हो, । त्यसका अलावा अहिले बैंकहरुले नगद नै मौज्दात राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्न पनि यस्ता धातुलाई नगदकै मान्यता दिएर काम चलाउने उद्देश्य हुन सक्छ ।
समग्रमा भन्नुपर्दा सीसीडी रेसियोमा सुनलाई निक्षेपको रुपमा गणना गर्ने उद्देश्य पनि हुनसक्छ । आचार्यका अनुसार यसो गर्दा नगदलाई सजिलै परिचालन गर्न सकिन्छ । प्राविधिक रुपमा भन्नुपर्दा यसरी सुनलाई नै निक्षेपको मान्यता दिने हो भने बजारमा नगदको प्रवाह अहिलेको भन्दा धेरै नै बढी हुन्छ । जसले गर्दा हरेक ३÷३ महिनामा देखिने गरेको हालको तरलता अभावको समस्या हट्नसक्छ ।
यसअघि १८८१ बिन्दुमा पुगेको नेप्से सूचक अहिले १३१३.८८ बिन्दुमा गएर अड्किएको छ । पछिल्लो समय शेयर बजारमा केही सुधार आए पनि उत्साहजनक रुपमा नेप्से बढेको थिएन ।बजेटमा पुँजी बजारलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम आएकाले शेयर बजार उकालो लाग्न सक्ने सम्भावना छ ।
बजेटपछि लगानीकर्ताको मनोबल बढेको छ । सरकारको स्पष्ट नीति बजेटमार्फत आएकाले पनि शेयर बजार उकालो लाग्ने संकेत देखिएको हो । लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको छ । बैंकको ब्याज र शेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याज बढ्दा शेयरको मूल्य घट्छ भने ब्याज घट्दा मूल्य बढ्छ । बैंकमा लगानीयोग्य पुँजीको अभाव समाधान हुने क्रममा रहेको र बजेट पनि शेयर बजारमैत्री आएकाले बजार बढने अनुमान गरिएको बिज्ञको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस