aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब रूपियाँ ढुकुटीमा थन्क्याउँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०९ साउन २०७७
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब रूपियाँ ढुकुटीमा थन्क्याउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैंकको ढुकुटीमा तानेको हो ।

मुलुकमा कोरोना सङ्क्रमणसँगै गरिएको लकडाउनले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैंकिङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपियाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार जारी गरिएको सात दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । रिभर्स रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थालाई बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा रिपोमार्फत रु. ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १०३ अर्ब २८ करोड गरी कुल रु. २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु. १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत १४६ अर्ब २८ करोड गरी कुल रु. २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल रु। ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु। १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक)बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु. ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९२ करोड खुद खरिद गरी रु. ३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु. ४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु. ४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस