aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

फेरियो ११ को परीक्षा मापदण्ड

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०९ साउन २०७७
फेरियो ११ को परीक्षा मापदण्ड

काठमाडौं । कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो। यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि तयार पारेको हो। कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियासमेत व्याख्या गरेको छ। कार्यविधिको परिच्छेद ३ ले विद्यार्थीको मूल्यांकनसम्बन्धी व्यवस्था गरेको छ। सम्बन्धित विद्यालयले कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन गर्ने मिति र तालिका परीक्षा बोर्डको सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्नेछ। परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले तोकेको पाठ्यक्रमको ढाँचाअनुसार हुनुपर्ने छ। यी सामग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्नेछ।

परिच्छेद ४ ले परीक्षा तथा प्रमाणीकरण समिति सम्बन्धी व्यवस्था गरेको छ। जसअनुसार सम्बन्धित विद्यालयका प्राचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति रहनेछ। जसमा सम्बन्धित कक्षा शिक्षक र प्राचार्यबाट मनोनीत अर्का १ जना शिक्षक सदस्य रहने व्यवस्था छ।

कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ सी ग्रेड ल्याउनु पर्नेछ। यो वर्षदेखि नै कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र प्राप्तांक पनि उल्लेख नहुने भएको छ। बोर्डले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो। यस पटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्रमा पनि नयाँ नियम लागू गर्न लागेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को प्रमाणपत्रमा सम्बन्धित विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरेका थिए भन्ने जानकारी लिनकै लागि छुट्टै लिंकको व्यवस्था गरिनेछ। उनले भने, ‘कक्षा ११ मा कुन, कुन विषयमा कति प्राप्तांक आयो भन्ने जानकारी १२ को प्रमाणपत्रमा हुँदैन। तर कक्षा ११ मा कुन, कुन विषय पढेका रहेछन् भन्ने जानकारी लिन सकिन्छ।’

यसअघि बोर्डले नै कक्षा ११ र १२ को परीक्षा लिने गरेको थियो। बोर्डले नतिजा प्रकाशन गर्दा विद्यार्थीले कक्षा ११ र १२ मा पढेको विषय र प्राप्तांकसमेत उल्लेख गर्ने गरेको थियो। बोर्डले पारित गरेको कक्षा ११ को मूल्यांकन कार्यविधिअनुसार सम्बन्धित विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन अध्यनरत विद्यालयबाटै हुनेछ। प्रधानाध्यापकको नेतृत्वमा रहेको मूल्यांकन समितिले विद्यार्थीलाई प्राप्तांक दिनेछ। यसरी दिएको प्राप्तांक चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि विद्यालयमै निवेदन दिनसमेत सक्नेछ।

विद्यालयले विद्यार्थीको निवेदन माथि अध्ययन गरी पुनर्योगको नतिजा कक्षा १२ को परीक्षा फाराम भर्नुअघि नै सार्वजनिक गरिसक्नु पर्नेछ। कोभिड- १९ को संक्रमण त्रासका कारण यो वर्षदेखि कक्षा ११ को परीक्षालाई सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो। माध्यमिक शिक्षा परीक्षा (एसईई) को पनि आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई प्राप्तांक दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। बाँकी रहेको कक्षा १२ को परीक्षा भने बोर्डले नै सञ्चालन गर्नेछ। परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा तालिका सार्वजनिक नभए पनि भदौको अन्तिम सातादेखि असोजको पहिलो हप्ताभित्रमा परीक्षा सञ्चालन गर्ने तयारी बोर्डले गरेको नियन्त्रक शर्माले बताए।

प्रतिक्रिया दिनुहोस