
काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने स्पष्ट पारेका छन् । नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने उनले खतरा औंल्याए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । सरकारको कामकारबाहीमा कमिकमजोरी भए सुधार गरेर लैजानुपर्ने उनको तर्क छ ।
नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे सोध्दा उनले भने,‘दल दर्ता भएको कुरा यो फ्याक्ट हो । त्यहाँभित्र अन्तरकुन्तरमा को–को सक्रिय थिए ? को–को सक्रिय थिएनन् ? भन्ने कुरा छलफल, अध्ययन र अनुशन्धानको विषय हो भन्ने लाग्छ । पार्टी अध्यक्षले अध्ययन गर्नुभएको होला। बुझ्नु भएको होला ।
बुझेरै भन्नुभएको होला भन्ने लाग्छ । एउटा नेताले बुझेको सबै कुरा कार्यकर्ताले पनि बुझ्नुपर्छ भन्ने जरुरी छैन् । फ्याक्ट के हो भने नेकपा एमालेकै नाममा आयोगमा दल दर्ता भएको छ । किन दर्ता भयो ? भन्ने विषयमा निश्चयपनि प्रश्नहरु छन् । तर, तपाईले पार्टी विभाजनको कुरा गर्नुभयो, म पार्टी विभाजनको सम्भावना देख्दिन् । पार्टी विभाजन हुनुहुँदैन् । पार्टी विभाजनको वे बाट जानुहुँदैन् । विभाजनको वे बाट जानु भनेको के हो भन्दाखेरि यो डेमोक्रेसी सिद्धिने वेबाट जाने हो ।’
गुरुङले भने,‘विगतमाजस्तै डेडलक कायम हुन्छ । भोलि पार्लियमेन्ट डिजल्भ हुनपनि सक्छ । यो सिस्टम कोल्याप्स हुनसक्छ । दलको विभाजन केसँग जोडिएको छ भने नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ । दलहरु विभाजन हुन र जुट्न सक्छन् । यो स्वभाविक प्रक्रिया हो । तर, यतिखेर नेकपालाई विभाजन हुने छुट छैन् । नेकपा तलमाथि भयो भने त्यसले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउनेछ । नेपाल अफगानिस्तान, सिरिया, लेबनान बन्नेछ ।’
उनले पार्टीभित्रको विवादबारे छलफल र बहस भैरहेको सुनाए । पार्टीको निर्णय सबैले मानेर नै अघि बढ्नुपर्ने उनको तर्क छ । भारतीय मिडियाले नेपालबारे गरेका प्रचार अफवाहबाहेक अरु केही पनि नभएको उनको टिप्पणी छ ।
मुलुकमा कोरोना महामारी, बाढि÷पहिरो र डुबानलगायतका विपत्ति विद्यमान रहेकोले सबै एकजुट भएर लाग्नुपर्ने उनले आवश्यकत्ता औंल्याए । गुरुङले मुलुकका अगाडि केही राजनीतिक संकट पैदा भएको पनि उल्लेख गरे । उनले भने,‘राजनीतिक संकट आन्तरिक र बाहृय दुवै रुपमा देखापरेको छ । आन्तरिक रुपमा यतिवेला मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । त्यसको रक्षा र संस्थागत स्थापनाको जरुरी छ । यो रक्षा गर्ने सवालमा कति रक्षा गर्न सक्यौं ? कति सकेनौं भनेर क्वेशनहरु उठिराखेको छ ।’ उनले अहिले प्राप्त लोकतन्त्र नै गुम्ने हो कि भन्ने चिन्तापनि प्रकट भैरहेको उल्लेख गरे ।
त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा पनि अहिले व्यापार युद्ध हुँदै शीतयुद्धको अवस्था रहेको उनले चित्रण गरे । उनले भने,‘प्रकारन्तरले तेस्रो विश्व युद्ध हुने हो कि भन्ने चिन्ता देखिएको छ, तेस्रो विश्वयुद्ध भयो भने नेपालले आफ्नो विदेश नीति कुन प्रकारको अवलम्बन गर्ने भन्नेपनि प्रश्न छ। यतिखेर असंलग्न आन्दोलन, असंलग्न नीति, पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै शान्तिपूर्ण मार्गबाट जाने कि या शक्ति संघर्षमा कुनै पक्षमा उभिने ? भन्ने दुईवटा बाटोभन्दा तेस्रो बाटो छैन् । कुन बाटोमा अघि बढ्ने भन्ने चूनौति छ ।’
अन्तर्राष्ट्रिय शक्तिले नेपाललाई अस्थिर बनाउने र अराजकता पैदा गराउन खोजिरहेको उनको आरोप छ । उनले भने,‘नेपालको यो सिस्टमलाई कोल्याप्स बनाउन शक्ति केन्द्रहरु बढिभन्दा बढि लागिरहेका छन् ।’ अहिले देखिएका चूनौतिको सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकत्ता सुनाउँदै उनले भने,‘प्राप्त डेमोक्रेसीको रक्षाको प्रश्नमा पनि प्रष्ट भिजनका साथ अगाडि बढ्ने लिडरको जरुरी छ। आन्तरिक रुपमा पनि राष्ट्रिय सहमति जुटाएर जानसक्ने नेतृत्वको जरुरी छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् । उनले भने,‘सरकार कहाँ छ ? सरकार कहीँपनि देखिएको छैन् । नेपालको सिमानाभित्र नेपाल सरकार छैन् । सरकार हामीभन्दा बाहिर छ । अहिले यत्रो बाढि÷पहिरो गएको छ, कोरोनाको महामारी छ, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घट्ना घटेका छन्, तर सरकार कहीँपनि छैन् ।’
विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा कविता लेखेर बस्ने गरेको तर प्रधानमन्त्रीलाई जनताको दुःख र पीर÷मार्का थाहा नभएको टिप्पणी गरे । उनले भने,‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन् र कोही भोकै मर्नुपर्दैन् भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहँ छ भन्नेबारे केही थाहा छैन् ।’
सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उनको भनाई छ । उनले भने,‘नेकपाले जनता झुक्याउने काम गरिराखेको छ । यो सरकारको विकल्प खोजिनुपर्छ ।’ तर, सरकारको विकल्प खोज्नेबारे बल सत्तारूढ नेकपाकै कोर्टमा रहेको उनको टिप्पणी छ ।
उनले आम नागरिकबीच सरकार नभएको जिकिर गरे । उनले भने,‘कहिलेकाहीँ हामी सञ्चारमाध्यमबाटै देख्छौं–यो सरकार नेपालभित्र नभएर बाहिर पो छ कि ? किनकी बाहिरका मान्छे आएर यो सरकार टिकाईदिने, बाहिरका मान्छे आएर सत्तारुढ दलको अविश्वासको प्रस्ताव रोकिदिने ? बाहिरको मान्छे आएर प्रधानमन्त्रीको आयु लम्ब्याईदिएको देख्दा सरकार हामीसँग छैन् । सरकार हामीभन्दा बाहिर छ कि जस्तो अनूभुति हुन्छ ।’ रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घट्ना कतैपनि सरकार नदेखिएको उनको गुनासो छ ।
वर्तमान सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको नामपनि उल्लेख गरेर प्रस्ताव ल्याउनुपर्ने संवैधानिक प्रावधान सुनाउँदै विश्वकर्माले भने,‘स्पष्ट बहुमतको साथ रहिरहेको सरकारको विकल्पको खोजि गर्ने जिम्मा पहिलो त सत्तारुढ दलकै हो । उहाँहरु अर्को प्रधानमन्त्रीको खोजिमा आफैं लाग्नुभएको छ । आफैं त्यहाँ अर्को प्रधानमन्त्रीको खोजि गर्ने निश्कर्ष निस्किसकेपछि आम जनताको तर्फबाट वैकल्पिक सरकार खोज्ने कुरामा प्रमुख प्रतिपक्षी दल पछाडि पर्दैन् । हामी समयको पर्खाईमा मात्रै छौं । अहिले हतारो गर्ने कुरा प्रमुख प्रतिपक्षी दल वा प्रतिपक्षी दलको भन्दापनि सत्तारूढ दल स्वयमको हो ।’
उनले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिर्ने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरंश पालना गर्ने कुरा संविधानमै प्रत्याभुति गरिएको बताए । तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उनले चेतावनी दिए ।
उनले भने,‘हामी न्यायालयको स्वतन्त्रता स्वीकार्छौं, तर स्वच्छन्दता स्विकार्दैनौं ।’ रञ्जन कोइरालाको मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति उनले दुःख व्यक्त गरे । उनले भने,‘प्रधानन्यायाधीश सहितको संलग्नतामा भएको यो फैसला सरासर गलत हो । न्यायमूर्तिहरुले कानूनको अक्षरलाई अवमूल्यन गर्नुहुँदैन् ।’
नेता विश्वकर्माले पीडितले न्याय पाउनुपर्ने र पीडकले हदैसम्मको सजाय भोग्नुपर्ने बताए । उनले भने,‘पीडितले न्याय पाउनुपर्छ । र, पीडकले हदैसम्मको सजाय भोग्नुपर्छ । र, न्यायमूर्तिहरु आफ्नो ठाउँमा बस्नुपर्छ । अहिलेको केशमा पूनरोवलकन गर्ने भनिएको छ, त्यसअनुसार सुनुवाई होस् । महाअभियोग भनेको त्यति सजिलो छडी होईन् । दाहिने वा देब्रे, तल वा माथि जतिबेलापनि चलाउन मिल्ने छडी होईन् । यसमा पूनरावलोकन गरिन्छ भन्ने मलाई विश्वास छ । महाअभियोगको स्टेप चाल्नुपर्ने अवस्था नआओस् । यदि यसमा सच्याईएन र यसैगरि विकृति बढ्यो भने त्यो अवस्थामा पनि पुग्नुपर्ने हुनसक्छ ।’
पछिल्लो समय यस्ता घट्ना किन भैरहेका छन् ? त भन्ने सवालमा उनले सरकारलाई दोष दिए । उनले भने,‘न्यायापालिका त्यस्तै, सेना त्यस्तै, प्रहरी त्यस्तै, किनकी सरकार आफैं अपराधीलाई कारबाही गर्दैन् । त्यही भएर देशमा कुशासन बढेको हो । समग्रमा यो सरकार असफल भयो । यसको विकल्प खोज्नुपर्छ ।’
जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिएका छन् । उनले भने,‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाईसकेका छौं ।’
उनले वर्तमान सरकार छ कि छैन् ? भनेर खोज्ने अवस्था रहेको चित्रण गरे । उनले भने,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि÷पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’
उनले कोरोनाले भन्दा बढि मानिस बाढि÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गरे । उनले भने,‘हजारौं मानिसहरु घरवारविहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने ? वर्षभरि नै सरकार सुतेर बस्ने हो ? जनताले सुखमा सरकारलाई सम्झिँदैनन्, दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’
उनले सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर केही नेताहरुले र सामाजिक सञ्जालमा भएका टिप्पणीको विरोध गरे । उनले भने,‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निश्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पूनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर तपाईकै पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुृराम भट्टराईले माग गर्नुभएको छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘म कसैको दास होईन् । बाबुरामजीको कुरा उचित हो भने पार्टीमा छलफल होला । तर, मैले यहाँ अहिले मेरो व्यक्तिगत विचार राखेको हुँ।’
उनले हालै युवतीमाथि भएको एसिड आक्रमणको घट्नाको घोर निन्दा गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरे । उनले भने,‘यो जघन्य अपराध हो । काूननमा यसबारेमा दण्ड, सजायको व्यवस्था छ । तर, म भन्छु एसिड बिक्रि–वितरणमा कडा व्यवस्था गर्नुपर्छ । लाईसेन्सको व्यवस्था गरौं । यसको उपयोग र प्रयोजनबारे राम्रो व्यवस्था गरौं ।’
प्रतिक्रिया दिनुहोस