aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सनराइज बैंकको बोर्ड विवाद राष्ट्र बैंकमा पुग्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, ११ साउन २०७७
सनराइज बैंकको बोर्ड विवाद राष्ट्र बैंकमा पुग्यो

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिबीच विवाद बढेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

बैंक सञ्चालक समितिको बिहीवार सम्पन्न बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालको कामकारबाही चित्त नबुझेको भन्दै राजीनामा माग्ने निर्णय गरेको समाचार बाहिर आएको छ ।  सञ्चालक समितिमा आन्तरिक विवाद चुलिदै गएपछि सीईओको राजीनामा मागिएको बताइन्छ । सञ्चालक समितिले सीईओको राजीनामा मागेको र पौड्यालले राजीनामा दिन नमानेको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि राष्ट्र बैंकले दुवै पक्षलाई आइतवार छलफलका लागि बोलाएको हो ।

बैंकको आन्तरिक विवादका बारेमा यसरी बोलाउनुलाई राष्ट्र बैंकको हस्तक्षेपका रूपमा लिने गरिन्छ । सञ्चालक समितिका अध्यक्षले नीतिगत कुरा गर्ने र सीईओले कार्यान्वयन पक्ष हेर्ने हो । तर, यी दुईबीच विवाद भएमा बैंक समस्यामा पर्न सक्ने देखेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकका सबै पक्षसँग आइतवार सोधपुछ गर्ने जानकारी दिए । ‘सनराइज बैंक समितिले सीईओको राजीनामा मागेको विषयमा मिडियावाजी भएर छताछुल्ल भयो । त्यसैले राष्ट्र बैंकले आइतवार दुवै पक्षलाई बोलाएको छ,’ उनले अभियानसँग भने, ‘राष्ट्र बैंकले आवश्यक परेमा बैंक तथा वित्तीय संस्थाको जुनसुकै बेला सुपरिवेक्षण, भेरिफाई गर्न र छलफल गर्न सक्छ । सञ्चारमाध्यममा बढी चर्चा भएकाले हामीले छलफल गर्न खोजेका हौं ।’

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

सीईओको राजीनामा मागिएको बारेमा परस्पर बाझिएको कुरा बाहिर आएको छ । एक पक्षले सिईओको राजीनामा सञ्चालक समितिको निर्णयअनुसार मागिएको बताएको छ भने अर्को पक्षले असन्तुष्ट समूहले मात्र राजिनामा मागेको दाबी गरेको छ । गत वर्ष सीईओमा निरज श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरिँदा सञ्चालक समितिकै केही सदस्यले आपत्ति जनाएपछि पौड्याललाई सिईओ बनाइएको थियो ।

बैंक स्रोतका अनुसार पछिल्लो समय सञ्चालक समितिका केही सदस्य (विशेषगरी मालचन्द दुगड) भने सिईओ पौड्यालको कामप्रति सन्तुष्ट थिएनन् । ‘यसबीचमा बैंकका अध्यक्ष मोतिलाल दुगड सिईओको पक्षमा देखिएपछि सञ्चालक समितिभित्रै विवाद चर्किएको हो,’ स्रोतले बतायो ।

यता, सिईओ पौड्याल भने सञ्चालक समितिसँग सामान्य आन्तरिक असमझदारी भएको बताउँदै समितिमा राजीनामाको आधिकारिक निर्णय नभएको बताउँछन् । ‘आधिकारिक रूपमा राजीनामा मागिएको छैन र म दिँदा पनि दिन्न । मैले काम थालेको १ वर्ष भयो । ४ वर्षे कार्यावधिमा अझै ३ वर्ष बाँकी छ ।  म बैंकलाई नयाँ उचाइमा पुर्‍याउनेगरी पूरै कार्यावधि नसकुञ्जेलसम्म काम गर्छु,’ उनले अभियानलाई बताए ।

सञ्चालक समितिका एक सदस्य सीईओको कामप्रति चित्त नबुझेकाले सञ्चालक समितिले राजीनामा माग्ने निर्णय गरेको बताउँछन् । ‘सञ्चालक समितिबीच कुनै गुट छैन । यो एकल निर्णय होइन । सीईओले गरेको कामको चित्त नबुझेरै सामूहिक निर्णयअनुसार मंगलवार–बुधवारसम्ममा राजीनामा मागेका हौं,’ समितिका एक सदस्यले अभियानलाई भने ।

सञ्चालक समितिमा पौड्याललाई नियुक्ति गर्ने बेलामा नै विवाद भएको थियो । पौड्यालको नियुक्तिमा नै निर्देशकहरूको स्वार्थले काम गरेको थियो । समितिले नीरज श्रेष्ठलाई सीईओ बनाउने निर्णय गरिसकेको अवस्थामा सञ्चालक समितिमा दुई पक्षबीच विवाद भएपछि पौड्याललाई सीईओ बनाइएको थियो ।

‘१ वर्षअघि सीईओमा नीरज श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय भएको थियो । तर, समितिका सदस्यबीच नै कुरा नमिलेपछि ग्लोबल आईएमई बैंकबाट राजीनामा दिएर बसेका पौड्याललाई नियुक्त गरिएको थियो । तर, अहिले सबै जना उनको कामप्रति सन्तुष्ट नभएर यो अवस्था आएको हो,’ सञ्चालक समिति सदस्य बछराज तातेडले अभियानलाई बताए ।

पछिल्लो समय पनि बैंक सञ्चालक समितिका सदस्यहरूबीच एक पक्षले सीईओ पौड्याललाई समर्थन गरेको थियो । तर, सञ्चालक समिति सदस्यहरूबीच स्वार्थको सन्तुलन मिलाउन पौड्याललाई हटाउन निर्देशकहरू सहमत भएको बताइन्छ ।

समितिले राजीनामा माग गरेलगत्तै सीईओ पौड्याल नेपाल राष्ट्र बैंकसमक्ष आफ्ना गुनासो राख्न पुगेका थिए । तर, नियमन विभागमा कार्यकारी निर्देशक देवकुमार ढकालसँग भेट गर्न समय नपाएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

संशोधनको अन्तिम प्रक्रियामा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ९बाफिया० ऐनमा सञ्चालक समितिले सीईओको काममा हस्तक्षेप गर्न नपाउने व्यवस्था छ । तर, बैंकिङ हितका लागि समितिले सीईओलाई नीतिगत निर्देशन दिन सक्ने र त्यो निर्देशनअनुसार काम नगरे निकाल्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस