
काठमाडौं, जेठ १६ । सरकारले मूल्य अभिवृद्धि कर संकलन प्रभावकारी बनाउन विद्युतीय भुक्तानीमा जोड दिएको छ । विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई छुटको व्यवस्थासमेत गरिएको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।
नयाँ बजेटमा भनिएको छ–‘उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नुपर्ने छैन ।’
त्यस्तै आगामी आर्थिक वर्षदेखि सबै किसिमको राजस्वको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्ने पनि बजेटमा उल्लेख छ । विद्युतीय माध्यमबाट बिजक जारी गर्ने र त्यसलाई आन्तरिक राजस्व विभागको केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने व्यवस्था गरी मूल्य अभिवृद्धि करको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, आयकर फिर्ताको प्रक्रिया सरलीकरण गरी सम्बन्धित कार्यालयमार्फत कर फिर्ता हुने व्यवस्था मिलाएको र करको बाँकी बक्यौता नभएका करदाताहरुले आन्तरिक राजस्व विभागको प्रणालीबाट स्वतः करचुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस