काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारबाट फेरि मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।
‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’ विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ ।’
सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै, अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी शुरु हुने विभागको पूर्वानुमान छ ।
आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस