aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यसकारण भारतले समुदायमा कोरोना संक्रमण फैलिएको भन्न चाहँदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
यसकारण भारतले समुदायमा कोरोना संक्रमण फैलिएको भन्न चाहँदैन

भारतमा अहिले १३ लाख बढिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ र ३२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।  "यी तथ्याङ्क झुटा होइनन्," विज्ञ भन्छन्, "एकपछि अर्को राज्यमा सङ्क्रमण दर छिटोछिटो बढिरहेको छ। आँखा अगाडि भएको तथ्यलाई अस्वीकार गर्नुको कुनै अर्थ छैन।"

तर, सरकार त्यसमा असहमत छ। इन्डियन मेडिकल एसोसिएसनका एक चिकित्सकले हालै भारतमा सङ्क्रमण समुदायमा पुगेको बताएका थिए। दुईदिन पछि उक्त संस्थाले त्यसमा असहमति जनाउँदै त्यो भनाइ ती डाक्टरको 'व्यक्तिगत धारणा' रहेको बताए। त्यसले धेरैलाई आश्चर्यचकित बनायो।

भाइरोलोजिस्ट डा. शाहिद जमील भन्छन्, सरकारले विज्ञहरूको कुरा सुन्नुपर्‍यो र प्रमाण स्वीकार गर्नुपर्‍यो। डा. जमील भन्छन्- भाइरस ठूला शहर र केही 'हटस्पट'हरूमा सीमित पार्न सकिन्छ र देशको अरू भागमा पुग्नबाट रोक्न सकिन्छ भन्ने सोच थियो।

उनी भन्छन्, "त्यस्तो त भएन र अहिले भाइरस नियन्त्रणबिना फैलिरहेको छ।" भाइरस छिटोछिटो फैलिरहेको र धेरैजसो कोबाट कसलाई सर्‍यो भन्न सकिने स्थिति नरहेको पाइएको छ। डा. जमीलका अनुसार सरकारकै सर्वेक्षणमा पनि ४० प्रतिशत सहभागीले आफू कसरी बिरामी परेँ भन्न नसकेको बताएका थिए।

उनी भन्छन्, "समुदायमा सङ्क्रमण फैलिइसक्यो भन्ने हामीसँग पर्याप्त प्रमाण छन्।" त्यो रातारात नभएको विज्ञहरू बताउँछन्। सरकारले निरन्तर अस्वीकार गरिरहेकै बेला केही हप्ता लगाएर समुदायमा सङ्क्रमण पुगेको बताइन्छ।

सरकार स्वीकार गर्न किन हिचकिचाइरहेको छ ? 

विज्ञहरू भन्छन्, "अनुमान मात्र लगाउन सकिन्छ।" किनभने सरकारले यसबारेमा धेरै बोलेको छैन र सरकारी अडानलाई समर्थन गर्ने किसिमको परिभाषा पनि बाहिर ल्याएको छैन। एउटा कारण हुन सक्छ, "समुदायमा सङ्क्रमण पुग्यो भन्यो भने सरकारी नीतिको असफलता भन्ने अर्थ लाग्छ।" 

समुदायमा सङ्क्रमणका लागि सरकारलाई दोष लाउन सकिन्न भन्ने तर्क गर्दै डा. जमील भन्छन् तर सरकारले विज्ञानले प्रमाणित गरेको तथ्यलाई स्वीकार गर्न सक्नुपर्छ। भारतजस्तो सघन जनसङ्ख्या भएको देशमा समुदायमा सङ्क्रमणको सम्भावना जहिले पनि रहने डा. जमील बताउँछन्।

अस्वीकार गर्दा व्यर्थमा दबाव बढ्ने र यो विषयमा अनावश्यक विवाद बढ्ने विज्ञहरू बताउँछन्। सरकारसँग काम गरिसकेका अग्रणी सरुवारोग विशेषज्ञ डा. ललित कान्त भन्छन्, "समुदायमा सङ्क्रमण होस् या नहोस् हाम्रा रणनीतिमा सुधार गरिरहनुपर्छ।"

उनी भन्छन्, "एउटा राज्यमा नियन्त्रण भएको देखिँदा अर्कोमा बढेको छ। सङ्क्रमण झन् झन् नराम्रो अवस्थातर्फ गइरहेको छ। यो कटु सत्य हो।" तर समुदायमा सङ्क्रमण भएको भन्ने स्वीकार गर्नु अघि केही रणनीतिमा महत्त्वपूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ।

डब्ल्यूएचओ भन्छ: "ठूलो सङ्ख्यामा सङ्क्रमण भएको अवस्थामा व्यक्तिगत सङ्क्रमण या 'कन्ट्याक्ट ट्रेसिङ' र क्वारन्टीनको आवश्यकता हुँदैन।" त्यसबेला सङ्क्रमण कति क्षेत्रमा पुग्यो भन्ने तथ्याङ्क केलाएर त्यसै बमोजिम स्वास्थ्यसेवाकर्मीहरू तैनाथ गर्नुपर्छ। सरकारले तत्काल रणनीति परिवर्तन गर्न नचाहेको हुन सक्ने डा. कान्त बताउँछन्। किनभने परीक्षण र ट्रेसिङ निर्देशिकामा अभ्यस्त हुन सरकारलाई महिनौँ लागिसकेको छ।

महामारी विभिन्न ठाउँमा विभिन्न चरणमा रहेकाले पनि रणनीति सम्पूर्ण रूपमा परिवर्तन गर्न पनि कठिन छ। उनी भन्छन्, "तर त्यसले पनि सरकारको निरन्तरको अस्वीकारको जबाफ आउँदैन। उनीहरूले दीर्घकालीन धारणा र सरकारको समुदायमा सङ्क्रमणको परिभाषा सार्वजनिक गर्नुपर्छ। आम सर्वसाधारणले त्यसबारे जानकारी पाउनु उनीहरूको अधिकार हो र सरकार पारदर्शी हुनुपर्छ।" बीबीसी 

प्रतिक्रिया दिनुहोस