aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

यी मेयरले बनाए फोहोरलाई मोहर बनाउने योजना, दैनिक २ हजार केजी ग्यास उत्पादन हुने

  • रिता राउत
    रिता राउत
  • सोमबार, १२ साउन २०७७
यी मेयरले बनाए फोहोरलाई मोहर बनाउने योजना, दैनिक २ हजार केजी ग्यास उत्पादन हुने

काठमाडौँ।  फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा वीरगन्ज महानगरपालिकाले भने फोहोरलाई मोहर बनाउँदै छ । सहरमा उत्षर्जित फोहोरबाट महानगरपालिकाले उर्जा उत्पादन गर्न थालेको हो । 

महानगरपालिकाको फोहोरबाट धेरै किसिमको ऊर्जा उत्पादन गर्ने काम धमाधम भइरहेको सिनीयर वायोनोजी एक्सपर्ट सुसिम अमात्यले बताए । उनले भने, ‘हामी वीरगन्ज महानगरपालिकामा वैकल्पिक ऊर्जाको धेरै किसिमका काम गरिरहेका छौँ । जसमा सोलर ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा (वायोग्यास, सुधारिएको चुलो, ग्यासिफाइर चुलो, फोस्ट्राफ चुलो र रकेट चुलो) निर्माण कार्य धमाधम भइरहेको छ ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विश्व बैङ्कको ५० करोड भन्दा धेरै लगानीमा २० वर्ष भित्रमा काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको अमात्यले बताए । उनले भने, ‘हामीले १० नगरपालिका छानेका थियौँ । वीरगन्ज चाहिँ पहिलो महानगरपालिका हो । यो सार्वजनिक-निजी क्षेत्र साझेदारी (पीपीई मोडल)मा चल्ने प्रोजेक्ट हो ।’ अमात्यले थपे, ‘वीरगन्ज भन्दा पहिला नवलपरासीको सुकौली गाउँपालिकामा ५ हजार ५ सय घन मिटरको प्लान्ट हालिएको छ । यसले दैनिक २ हजार केजी ग्यास उत्पादन गरिरहेको छ । हालसम्म हामीले ४ लाख ५० हजार घन मिटर बायो ग्याँस प्लान्ट प्रवर्द्धन गरिसकेका छौँ ।’

हाल नेपालभर १५ वटा ठुला आयोजनाहरू निर्माणाधीन रहेको उनले बताए । त्यस्तै, भैरहवा, पोखरा, स्याङ्जा, धरान, झापामा पनि काम भइरहेको उनले जानकारी दिए । विराटनगरमा पाइपलाइनबाट ग्यास वितरण गरिरहेको अमात्यको भनाई छ । अमात्यले भने, ‘यसबाट स्थानीयले रोजगारी पाएका छन् । एलपीजी विदेशबाट आयात गर्न केही हदसम्म रोकेका छौँ ।’

अमात्य भन्छन्, ‘हामीले प्लान्ट निर्माण गरेर उत्पादन गरेको ठाउँमा यो ग्याँस एलपिजी भन्दा एक सय रुपैयाँ प्रति सिलिन्डर कम मूल्यमा बेचिरहेका छौँ ।' उनले अगाडी थपे, 'एलपीजी भन्दा सस्तोमा पाइन्छ भने किन प्रयोग नगर्ने ? आर्थिक सङ्कट त हरेक परिवारमा हुन्छ नि ? त्यसैले आर्थिक सङ्कटबाट बच्न यसको प्रयोग गर्न आवश्यक छ ।’  

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा ऊर्जा मन्त्रालयको समन्वय कमजोर रहेको उनको भनाई छ । अमात्य भन्छन्, ‘अहिले हामीले प्रोजेक्टमा काम गरिरहेका छौँ । सधैँ अरूले लगानी गरिदिन्छ भन्ने हुँदैन । त्यसैले यसमा नेपाल सरकारले पनि बजेट नै छुट्याएर काम गर्न आवश्यक छ ।’ विदेशबाट आयातित एलपीजीलार्ई विस्थापित गर्न ठुला व्यावसायिक बायोग्यास प्लान्टलाई विस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। यस्ता प्लान्टबाट ग्यास, विद्युत्, मल उत्पादन गर्न सकिनुका साथै फोहर मैलाको व्यवस्थापनसमेत हुने भएकाले सरकार, दातृ निकाय र निजी क्षेत्रको सामूहिक प्रयासको खाँचो रहेको उनले औँल्याए ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले एलपी ग्यासको तुलनामा वायोग्यास सुरक्षित, बढी तापक्रम दिने, सस्तो र सहज हुने भएकाले आफूलाई यसतर्फ आकर्षित गराएको बताए । “शुरुमा त यति ठुलो र नयाँ खालको प्लान्ट जडान गर्न सकिएला भन्ने विश्वास पनि थिएन तर वैकल्पिक प्रवर्द्धन केन्द्र र विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहयोग रहेकाले सम्भव भयो”, उनी भन्छन् “अब यस खालका प्लान्ट हरेक पालिकामा जडान गर्न सके ऊर्जा र मलमा सजिलै आत्मनिर्भर बन्न सकिन्छ ।” 

महानगरपालिकामा बढ्दो फोहरको समस्या समाधान गर्न यस खालका ठुला क्षमताका बायो ग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने विश्वास  मेयर सरावगी व्यक्त गरे ।  
 

प्रतिक्रिया दिनुहोस