aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अब पशुपतिमा उच्च सुरक्षा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, १३ साउन २०७७
अब पशुपतिमा उच्च सुरक्षा

काठमाडौं । पशुपति क्षेत्रमा मानवीय खतरा एवं आपराधिक गतिविधि शून्य बनाउन पशुपति क्षेत्र विकास कोषले नयाँ सुरक्षा रणनीति तय गरेको छ। पाकेटमारी, झैंझगडा, भागदौड, ठगी, मादक पदार्थ सेवन तथा बिक्रीवितरणदेखि प्राकृतिक प्रकोपसम्म लक्ष्य गरी नयाँ रणनीति अपनाउन लागिएको कोषले जनाएको छ।

विश्वका करिब १ करोड हिन्दूको आस्थाको केन्द्र एवं विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रमा उच्च सुरक्षा अपनाउनुपर्ने अवस्था देखिएको ठहर कोषले गरेको छ। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अब नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पर्यटक प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकसम्म परिचालन हुने जानकारी दिए। एक दशकदेखि कोषका सुरक्षागार्डसमेत परिचालित छन्। नेपाल प्रहरी र सशस्त्रको टोलीसमेत परिचालित थिए।

उनका अनुसार पशुपतिनाथ मन्दिर र परिसरका सम्पत्ति तथा सम्पदा, कोषको सम्पत्ति, पाशुपत क्षेत्रका सम्पदा, अन्य सबै प्रकृतिका सम्पत्तिलगायतको सुरक्षामा बढी केन्द्रित गरिनेछ। कोषले तयार पारेको दोस्रो गुरुयोजनाअन्तर्गतको सुरक्षा संयन्त्र व्यवस्था प्रणाली सुधार कार्यदलमा संयोजक डा. थापा, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारी, प्रहरी नायब निरीक्षक गोविन्दबहादुर प्रधान, प्रहरी नायब निरीक्षक लालकाजी खड्का र पूर्वप्रहरी निरीक्षक मनीष मल्ल छन्।

थापाका अनुसार पशुपति, गुह्येश्वरीजस्ता विशेष मन्दिर प्रवेशद्वारमा वाकथ्रु गेट र मेटल डिटेक्टर, पशुपति, गुह्येश्वरी, मृगस्थली, विश्वरुपा, भुवनेश्वरी, जयबागेश्वरी, गौरीघाट भण्डारखाल, देवउद्यान, आर्यघाट, भष्मेश्वर घाट, १५ शिवालय र राम मन्दिरलगायत स्थानमा सीसीटीभी जडान गरिनेछ। मन्दिर परिसर र ठूला सत्तलमा अग्निनियन्त्रक, पाशुपत क्षेत्रका खुला स्मारक र विशेष संवेदनशील ठाउँमा बिजुलीबत्ती, पाशुपत क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई आपत्कालीन सूचना प्रवाह गर्न साइरन आदिको व्यवस्था गर्न लागिएको छ। सुरक्षा रणनीतिमा कोषले भीआईपी अट्र्याक्टदेखि प्राइज फाइटिङ, सिमुलेसन एक्सरसाइजजस्ता कुरामा केन्द्रित गरेको छ। गस्ती, विशेष, अस्थायी, स्थायी, चाडपर्व, विशिष्ट व्यक्तिको आगमन, आपत्कालीन आदि विभिन्न प्रकारका सुरक्षा हुनेछन्।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले प्रत्येक वर्ष सुरक्षा अद्यावधिक गरी सुरक्षा रणनीति तय गरिने जानकारी दिए। ‘पाशुपत क्षेत्रभित्र २४ घण्टे सुरक्षाका उपाय अपनाइनेछ’, उनले भने, ‘पाशुपत क्षेत्रवरपर हुने मुख्य अपराधको पहिचानपछि सम्बन्धित प्रहरी युनिटसँग समन्वय नियन्त्रण गर्नेछौं।’

कोषले भौतिक संरचनाको तत्कालीन र दिर्घकालीन सुरक्षा व्यवस्थाको खाका तयार पार्ने भएको छ। निषेध र चेतावनी दिइएका स्थान तोक्ने र त्यहाँ पनि सूचना बोर्ड राखिनेछ। कोषले पाशुपत क्षेत्रका पशुपति, गुह्येश्वरी, भुवनेश्वरी, जयबागेश्वरी विश्वरूपा मन्दिर र आसपास, मृगस्थली, भण्डारेश्वर, क्रियापुत्री, देवउद्यान र वनकाली आदि क्षेत्र सुरक्षाका दृष्टिले विशेष संवेदनशील देखिएको जनाएको छ।

भक्तजनका लागि आवश्यक सबै प्रकारका सूचना र सम्पर्कका लागि विभिन्न स्थानमा सूचना बोर्ड राखिने छ। पशुपतिनाथ प्रवेश गर्ने सबै द्वारमा पशुपतिको चित्र झल्किने डिस्प्लेसहित सूचना, दाहसंस्कार र क्रियापुत्री घर आदिको बुकिङ, खाली भएको जानकारी दिइनेछ। प्रवेश गर्ने र निस्कने प्रणाली वैज्ञानिक विधिबाट व्यवस्थित गरिनेछ। विद्यमान र भविष्यमा थपिन सक्ने सुरक्षा चुनौतीलाई आधुनिक, वैज्ञानिक र प्रभावकारी बनाउन नयाँ सुरक्षा व्यवस्था गर्न लागेको कोषको भनाइ छ।

प्रतिक्रिया दिनुहोस