aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री


प्रधानमन्त्री र विभिन्न विशिष्ट व्यक्तिहरुको विनास तथा कार्यालय रहेको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा गराइएको प्रकरणमा गुठी संस्थानसमेत दोषी रहेको पाइएको छ । सो जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन गुठी संस्थानका पूर्वपदाधिकारीको पनि भूमिका रहेको निष्कर्श निकालेको हो ।

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ।

तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको सरकारी जग्गा बिक्री गरेको खुलेको हो।

‘माफियाले घरानिया व्यापारी र शक्तिकेन्दसम्म पहुँच भएका व्यक्तिलाई बालुवाटारको जग्गामा साझेदार बनाउनुको मुख्य कारण पछि विवाद आउँदा सजिलै सल्टाउन सकिने रणनीति नै हो,’ अनुसन्धान स्रोत भन्छ, ‘तर जुनसुकै पहुँच र दबाबलाई बेवास्ता गरेर अनुसन्धान अघि बढाउनू भन्ने हामीलाई निर्देशन छ।’

२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले त्यसको केही वर्षभित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए। मीनबहादुर गुरुङ एक्लैले कम्पनी तथा परिवारका सदस्यका नाममा ६३ रोपनी जग्गा खरिद गरेको ललितानिवास हिनामिनासम्बन्धी अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।

ललितानिवासको जग्गामा व्यापारीलाई भित्र्याउने मुख्य योजनाकार भाटभटेनी सुपरमार्केट सञ्चालक गुरुङ, भूमाफियाद्वय डा। शोभाकान्त ढकाल र रामकुमार सुवेदी हुन्। गुरुङ, ढकाल र सुवेदीले तत्कालीन भोगाधिकारीसँग २०६१ सालमा ललितानिवास परिसरको जग्गा खरिद गरेका थिए। त्यसपछि प्लटिङ गरेर नेता, व्यापारी तथा शक्तिकेन्द्रसम्म पहुँच भएका व्यक्तिलाई जग्गा बिक्री गरेको पाइएको छ।

प्रतिआना ६ लाखदेखि ८ लाख रुपैयाँसम्म तिरेर उक्त जग्गा खरिद गरेको खरिदकर्तामध्येका एक व्यापारीले बताए। जग्गा खरिद गर्न माफिया र व्यापारीले नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्रभु बैंक, सनराइज बैंक, जनता बैंकलगायतबाट कर्जा झिकेको स्रोत बताउँछ।

यही समूहबाट सत्तारुढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ८ आना जग्गा पाएको नागरिकले खुलासा गरिसकेको छ। ढकालकी श्रीमती उमाबाट आफूले ८ आना जग्गा किनेको पौडेलले दाबी गरेका छन्।

नागरिकलाई प्राप्त विवरणअनुसार गोयल समूहले भाटभटेनीका सञ्चालक गुरुङ, ढकाल र सुवेदीमार्फत २१ रोपनीभन्दा बढी जग्गा खरिद गरेको छ। गोयल समूहले श्रवण गोयल, डिएलएफ कम्पनीलगायतका नाममा ललितानिवासको जग्गा किनेको देखिन्छ।

त्यसैगरी शारडा समूहले पनि गुरुङबाटै ४ रोपनीभन्दा बढी जग्गा किनेको देखिन्छ। यस्तै चाचान समूहले ३ रोपनी भन्दा बढी जगा किनेको छ। यस्तै केडिया समूहका मनोज केडियालगायतको नाममा पनि जग्गा खरिद भएको छ। मनोजका नाममा करिव ४ रोपनी जग्गा गुरुङ तथा उनको परिवारबाट खरिद गरेको देखिन्छ। नागिरक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस