aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आफ्नो मान्छे पास गराउन प्रश्न नै फेरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
आफ्नो मान्छे पास गराउन प्रश्न नै फेरियो

पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ।

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन्। द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ। अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे। यो समाचार आजको अन्नपुर्ण पोष्ट  दैनिकमा प्रकाशित छ ।

प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ। छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो। प्रशासनको एक प्रतिस्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो। उनको परीक्षा बिग्रियो। उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई। उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन्। राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन्। ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन्।

यसबारे रेडक्रस केन्द्रीय पदपूर्ति समितिका तत्कालीन सभापति सुरेन्द्र ऐरले फरकफरक प्रश्नपत्रको प्रकरण स्वीकारे। ‘अन्तिम घडीमा प्रश्नपत्रको एउटा प्रश्न स्तर नमिल्ने ठानियो। त्यसलाई फेरियो। पुरानो प्रश्नपत्र पनि थाकमै छुटेछ र प्रशासन समूहको एक परीक्षार्थीलाई परेछ’, उनले भने, ‘उनको परीक्षा कमसल भयो। उनले रेडक्रसमा उजुरी पनि दिएका छन्।’ तर, न उनको सुनुवाइ भयो। न परीक्षा रद्ध गरियो। यति ठूलो बदमासीलाई प्राविधिक त्रुटिका नाममा अलमल्याउँदै आइएको छ।

उता लेखातर्फ छैटौं तहमा उत्तीर्ण अविनास तामाङ रसुवा सभापति बाबुलाल तामाङका भतिज हुन्। ‘दोहोरो प्रश्नपत्रको एउटै तीरले केन्द्रीय अध्यक्ष र जिल्ला सभापतिका भतिजी/भजितालाई पास गराइयो’, रेडक्रसका एक उच्च अधिकारीले भने, ‘आफ्नालाई सजिलो, अरूलाई जटिल प्रश्न दिइयो। फसाइयो।’

प्रतिक्रिया दिनुहोस