काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भए ज्यान मार्छु भन्दै आफूलाई धम्की आएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले बझाङबाट एक युवाले फोन गरेर एमसीसी सम्झौता पास गरे टाउको काटिदिन्छु भन्दै आफूलाई धम्की दिएको बताए ।
‘एमसीसीलाई लिएर मलाई बझाङबाट फोन गरेर मलाई धम्की आएको छ । बझाङबाट एक जना भाइले फोन गरेर भने एमसीसी पास गरे तेरो टाउको काटिन्छ,’ भट्टले भने, ‘मैले एमसीसी सम्झौता पढेर भन्या हो कि त्यत्तिकै भन्दैछौ भनेर सोध्दा एमसीसी पढ्ने काम मेरो होइन, पढ्ने जिम्मा तेरो हो भन्यो । भाषा यही थियो ।’
समितिको बैठकमा अरू सांसदले पनि एमसीसी पास गरे जे पनि हुन सक्ने भन्दै आफूहरुलाई धम्की आएको बताएका थिए । एमसीसी सम्झौता संसद्मा विचाराधिन अवस्थामा रहेको छ ।
नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करिब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस