नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार महिलाले दिनभर धर्ना दिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेलसँग माग गरे, 'छोरीको बिहे १६ वर्षमा गर्न पाऊ ।' नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मानेको छ । 'छोरीको बिहे गर्न व्यवहारिक समस्या भयो । उनीहरुको गुनासो थियो,' प्रजिअ भुजेलले माग उद्धृत गर्दै भने ।
धर्नामा बालविवाह गरेर सानैमा तीन ती सन्तान जन्माएका किशोरी लालाबालासहित थिए । कानुनविपरित नै भए पनि यही वर्ष छोरीको बिहे गरिछाड्ने तम्तयारीबारे आमाहरु हाकाहाकी बोलिरहेका थिए । कोहलपुर नगरपालिका १४ का महिला १४ देखि १७ वर्ष उमेरका छोरी यही असोजमा बिहे गर्ने तरखरमा रहेको बताउँदै थिए ।
सुनिता खटिककी १४ वर्षकी छोरी बिनु, अनिता खटिककी १५ वर्षकी छोरी पुष्पा, मेथा खटिककी १६ वर्षीया छोरी कलावती, माया खटिककी १४ वर्षीया छोरी सरिता, ज्ञाना खटिककी १७ वर्षीया छोरी मनिषा र केशरानी खटिककी १६ वर्षीया छोरी करिष्माको असोजमा बिहे गर्ने उनीहरुले बताए ।
केशरानीले कानुन छल्ने योजना पनि सुनाईन्, 'बिहे गर्छु । चार वर्ष छोरी मेरै घरमा बस्छे । २० वर्ष पुरा भएपछि आफ्नो घर जान्छे ।' अधिकांश आमाको एउटै चिन्ता थियो, '२० वर्षसम्म छोरीलाई कसरी घरमै टिकाएर राख्ने । भागेर गई भने हाम्रो इज्जत कसरी जोगाउने ?' अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस