
कोरोना भाइरसको महामारीले ल्याएको विश्वव्यापी आर्थिक मन्दीसँगै नेपालीहरूको वैदेशिक रोजगारलाई पनि यसले पुर्णरुममा असर पारेको छ । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यको रूपमा रहेका मध्यपूर्वका अरब राष्ट्रहरू लगायत मलेसिया र अन्य मुलुक पनि यो महामारीबाट उत्तिकै आक्रान्त छन्। जसको कारण त्यहाँका धेरै कलकारखाना, उद्योग,व्यवसाय, पर्यटन सबै जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।
यसरी गन्तव्य मुलुकमा रोजगारीका अवसरहरू गुम्दा धेरै नेपालीहरू रोजगार विहीन भएर बन्द कोठामा थुनिएका छन्। कतिपय अलपत्र परेका छन्। लाखौँ स्वदेश फर्किने क्रममा छन्। हजारौँ फर्किसकेका छन्। कोरोना महामारीले अब केही वर्षका लागि नेपालीहरूको वैदेशिक रोजगारीका सम्भावनाहरू निकै खुम्चिएका छन् ।
कम्तीमा पनि अब ५/६ वर्ष बिश्वब्यापीरुपमा नयाँ रोजगारी सिर्जनाको सम्भावना निकै नै कम छ। कोरोना महामारीको अन्त्यपछिको विश्व परिस्थिति आजको अवस्थामा रहने छैन। उत्तर कोरोना काल कस्तो हुनेछ भन्ने कल्पना गर्दा आशा र अपेक्षा भन्दा निराशा पैदा गर्ने कारण र प्रमाण बढी भेटिन्छन्। त्यसबाहेक भविष्यको वैदेशिक रोजगारी आजको भन्दा निकै जोखिमपूर्ण हुनेछ ।
हामी लामो समय देखि वैदेशिक रोजगारमा निर्भर रहँदै आएका छौ। त्यसैले आज यसको सिधा असर हाम्रो दैनिक जीवनमा पनि देखिएको छ। नेपालको विद्यमान अर्थतन्त्रमा रेमिट्यान्सले ठुलो हिस्सा ओगटेको छ। रेमिट्यान्सबाट आफ्नो दैनिकी चलाउँदै नियमित उपभोग्य वस्तु खरिद गरेर खाने अधिकांशको बजारमा वस्तु तथा सेवा खरिद गर्ने क्रय शक्ति कमजोर भएर गएको छ ।
अब त्यसको विकल्पको खोजीमा सुविधामुखी र सहर केन्द्रित भएर अल्छी भएका नागरिकको समेत आफूले पहिला छोडेका पुराना गाऊँ/घरमा खेतीपाती,पशुपालन तिर पुनः फेरी विकल्पको रूपमा ध्यान मोडिएको छ। पहिला जुन किसिमबाट परम्परागत कृषि आधारित निर्वाहमुखी खेती प्रणाली थियो अबको यो फर्काइले चेतना सहित कृषिलाई व्यवसायीमुखी बनाउँदै लैजाने निश्चित छ। कृषिको विकास बिना आत्मनिर्भर र औद्योगीकरण हुन सक्दैन भन्ने कुरा नेपालमा प्रयोग सिद्ध हुने छ। कृषि अब वैदेशिक रोजगारको भरपर्दो विकल्प भएर आउने निश्चित नै छ। ठिक ढगले काम गर्न सके अब सङ्कट पछिको विकासको मोडल पक्कै पनि फरक हुने छ।
कोरोनाको महामारीले यो कुरा पनि प्रमाणित गरिदिएको छ कि जब हामीलाई अप्ठ्यारो परेको बेला मात्र देश घर सम्झने मनोविज्ञानमाथि सबैले पुनर्विचार गर्नु पर्ने रहेछ। यसरी नै आवश्यकताले देश निर्माण गर्ने, आफ्नो भविष्य बनाउने र भविष्यमा आउन सक्ने जोखिमहरूबाट बच्ने सबै कोणबाट सोचेर योजनाबद्ध र दीर्घकालीन सोच राखेर समयमा हामीले अगाडी बढ्न नसक्दा नै आज नेपालीहरू यस्तो बिचल्लीमा पर्नु परेको हो ।
विश्व फेरी दुई ध्रुव वा बहु ध्रुवको द्वन्द्व जाने देखिंदैछ। यदि अबको आर्थिक मन्दीले विश्वमा युद्धको वातावरण निर्माण गर्यो भने त्यो बेला प्राप्त हुने वैदेशिक रोजगारीलाई ज्यानको सर्तमा स्वीकार गर्नुपर्ने अवस्था आउनेछ। तसर्थ, अहिले विदेशमा सिकेको सीप र प्राप्त गरेको अनुभव तथा ज्ञानलाई मौलिक तरिकाले प्रयोग गर्दै स्वदेशमा नै अवसर र सम्भावना खोज्नु हाम्रो लागी सही र श्रेयकर निर्णय हुनेछ।
अब सबै नेपालीहरू विदेश नजाने गरी देश निर्माणको सङ्कल्प लिएर फर्किनु पर्छ। हाम्रो सामु अभूतपूर्व अवसर बोकेर कृषि,पशुपालन,पर्यटन, खनिज उत्खनन देखि अन्य क्षेत्र बसेका छन्। सङ्कटलाई अवसरमा लिन महामारीले सिकाएको पाठलाई अब आत्मनिर्भरतामा बदल्नु पर्छ। अनि मात्र देश समृद्ध हुन्छ र राज्य सञ्चालनका हरेक निर्णयमा हामी अहिले विदेशमा रोजगारी खोजिरहेकाहरू समेत आउन सक्छौ।
(धनकुटा, पख्रिबास । हाल- रोजगारको शिलशिलामा कतारमा कार्यरत)
प्रतिक्रिया दिनुहोस