
एजेन्सी । अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन पृथ्वी फर्किनका लागि आफ्नो ड्र्यागन इन्डिभर क्याप्स्यूललाई अन्तरिक्षकेन्द्रबाट अलग गराएका छन् ।
उनीहरू फ्लोरिडाको तटनजिकै आइतवार अवतरण गर्ने अपेक्षा गरिएको छ। उक्त समय नेपाली समयानुसार राति ००:३० तिर हुनेछ ।
उनीहरूको सफल अवतरणपछि अमेरिकासँग मानिसलाई अन्तरिक्ष पठाउने र फर्काउने क्षमता फेरि प्राप्त भएको पुष्टि हुने छ ।
अमेरिकाको यो क्षमता सन् २०११ मा शटलहरू अन्तरिक्षमा पठाउन बन्द गरेपछि गुमेको थियो ।
अमेरिकी अन्तरिक्ष निकाय नासा र उसको व्यापारिक साझेदार स्पेसएक्सले अवतरणका लागि समुद्री आँधी हरिकेन इसायासभन्दा टाढाको क्षेत्र रोजेका छन् ।
त्यही कारण उद्धारका लागि पर्खिने एउटा पानीजहाज पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटबाट उता गल्फ अफ मेक्सिकोतर्फ पठाइएको छ ।
नासा र स्पेसएक्सले गत वर्ष बिनामानव अवतरणको अभ्यास गरेका थिए । उक्त अभियानका नियन्त्रकहरूले हावा र छालको अवस्था निगरानी गरिरहेका छन्। उनीहरूले पुन: प्रवेशका लागि अन्तिमपटक "जान" भन्नुअघि पछिल्लो पूर्वानुमानबारे अध्ययन गर्नेछन् ।
त्यसपछि हर्ली र बेन्कनको ड्र्यागन क्याप्सूल अन्तरिक्ष कक्षबाट तल खस्न थाल्नेछ ।
सुरुमा प्रतिसेकेन्ड कैयौँ किलोमिटरकाे गतिमा झर्नेछ । तल झर्दै गर्दा त्यसको तलको भाग २,००० सेन्टिग्रेडसम्म तात्छ ।
अमेरिकाले ४५ वर्षअघि आफ्नो मानवससहितको यानलाई समुद्रमा अवतरण गराएको थियो ।
पृथ्वीमाथि सोभियत सोयूज यानसँग भेट भएपछि त्यति बेला अपोलो यान प्रशान्त महासागरमा फर्किएको थियो ।
डग हर्लीले त्यति बेलाको समाचारहरू आफूले पढेको र अन्तरिक्षयात्रीहरूले पानीमा अवतरणका लागि कुरिरहेका बेला बान्ता होला जस्तो हुने अनुभव गरेको थाहा पाएको बताएका छन् ।
"आवश्यक पर्यो भने झोला छ र त्यो बोक्न सजिलो छ," उनले शुक्रवार संवाददाताहरूलाई भने ।
"उकालो उक्लिँदा परिवर्तन भए जस्तै ओरालो झर्दा पनि त्यस्तै परिवर्तन हुनसक्छ भन्ने अन्तरिक्षमा उड्नेहरूलाई थाहा हुन्छ ।"
गत मे महिनाको अन्त्यतिर यी दुई अन्तरिक्षयात्रीलाई अन्तरिक्ष केन्द्र पठाइएको थियो ।
अब नासाले अन्तरिक्षकेन्द्रसम्म पुग्ने र फर्किने अमेरिकी अन्तरिक्षयान किन्ने वा सञ्चालन नगर्ने निर्णय गरेको छ ।
त्यसको सट्टा उसले व्यावसायिक क्षेत्रबाट भाडामा किनेर प्रयोग गर्ने विधि अपनाएको छ ।
पहिलोपटक क्यालिफोर्नियाको स्पेसएक्स कम्पनीले अहिलेको यान उपलब्ध गराएको हो ।
यस्तो गर्दा खर्च निकै कम हुने नासाका प्रशासक जिम ब्रिडेन्स्टाइनले बताए ।
"हामीले सामान र सुरक्षाका हिसाबले उच्च स्तरको मापदण्ड बनाएका छौँ, तर हामी यसलाई बनाउने कार्यमा भने सहभागी हुँदैनौँ। निजी कम्पनीहरूलाई बनाउन दिन्छौँ ।"
"उनीहरूले बनाएकै यानलाई हामी प्रयोग गर्छौँ र चन्द्रमा र अन्तत: मङ्गल ग्रहमा पनि हामीले त्यही विधि लागु गर्ने हो," नासाका अधिकारीले व्याख्या गरे ।
पछिल्लो शटल अभियानको टोलीले अन्तरिक्षकेन्द्रमा छोडेको अमेरिकी झण्डा कोसेलीका रूपमा हर्ली र बेन्कनले आफूहरूसँगै फिर्ता ल्याउनेछन् ।
प्रतिक्रिया दिनुहोस