aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

ई-शिक्षा प्याकेज सम्बन्धमा प्याब्सनकाे परिपत्र प्रति टेलिकमकाे आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
ई-शिक्षा प्याकेज सम्बन्धमा प्याब्सनकाे परिपत्र प्रति टेलिकमकाे आपत्ति

काठमाडाैं । नेपाल टेलिकमले आफूले प्रदान गरिरहेको ई शिक्षा प्याकेजबारे प्याब्सनको धारणा प्रति आपत्ति जनाएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गर्दै प्याब्सनले टेलिकमलाई आक्षेप लगाएकोमा आपत्ति जनाएको हो ।

सो बारेमा कम्पनीले प्याब्सनसँग भएको चरणबद्ध छलफलको बारेमा जानकारी दिँदै अनावश्यक आक्षेप लगाईएकोमा असहमति भएको स्पष्ट पारेको छ । कम्पनीले आफूले ल्याएको सो प्याकेजले अनलाइन कक्षा संचालन गर्न सहज भएको र विद्यार्थीहरुलाई शिक्षकसँग जोड्न सहयोग गरेको दाबी गरेको छ ।

सोही परिप्रेक्ष्यमा यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेको टेलिकमले जानकारीदिएको छ।

कम्पनीले अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी रु. ५०० मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।

टेलिकमले विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको जानकारी दिँदै कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको उल्लेख गरेको छ ।

यसका साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको र सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको बताएको छ ।

‘सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई मिति २०७७ साउन १५ गते ̔E-Learning को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको पाइयो । कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवाररुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ टेलिकमद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीले असहमती व्यक्त गरेको छ ।

यसका साथै कम्पनीका ग्राहकवर्ग तथा अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीवर्गप्रति आभार व्यक्त गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।

टेलिकमले ई–शिक्षा प्याकेज मिति बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस