वीरगञ्ज । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि यस नाकाका भन्सार कार्यालयले रातो च्यानलमा परेका मालसामानको जाँचपास बन्द गरेका छन् । कोरोना संक्रमित र मृतक बढ्दै गएको सदरमुकाम वीरगञ्जमा ९ दिनदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि पर्सा जिल्लाभरि लागू गरिएको छ ।
भारतबाट मालसामान लिएर आएका गाडी चालक र सहचालकका कारण नाकामा संक्रमणको जोखिम उच्च रहेको भन्सार अधिकारीहरू बताउँछन् । जोखिम बढेकाले आइतवारदेखि ७ दिनसम्मका लागि रातो च्यानलका मालसामानको जाँचपास रोकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।
‘रातो च्यानलमा पर्ने मालसामान जाँच्ने क्रममा मानिसहरूको बढी सम्पर्क हुने र यसबाट संक्रमण फैलिन सक्ने देखिएकाले अहिलेका लागि रोकिएको छ,’ भन्सार प्रमुख श्रेठले आर्थिक अभियानसँग भने । ७ दिनपछि समीक्षा गरेर अर्को निर्णय लिइने उनले बताए ।
अहिले भन्सारले प्रयोग गरेको आशिकुडा वल्र्ड अनलाइन प्रणालीमा आयातकर्ताले मालसामानको विवरण समावेश गरेपछि प्रणालीले हरियो, पहेंलो र रातो च्यानलमा वर्गीकरण गर्छ । यस्तो वर्गीकरण मालसामानको प्रकृति र राजस्व चुहावटको जोखिम मूल्यांकनमा आधारमा हुने भन्सार अधिकारीहरू बताउँछन् ।
हरियोमा परेको मालसामानमा राजस्व चुहावटको सम्भावना न्यून हुने भएकाले प्रज्ञापनपत्रमा भन्सार कर्मचारीले हस्ताक्षरमात्रै गर्छन् । पहेंलोमा कागजपत्र जाँच गरी हस्ताक्षर गरिन्छ । रातो च्यानलमा पर्नेको कागजात र मालसामान दुवै राम्ररी जाँच गरेरमात्र छोड्नुपर्ने भएकाले संक्रमणको जोखिम पनि बढी हुने श्रेष्ठले बताए ।
वीरगञ्ज भन्सारले पनि रातो च्यानलमा पर्ने वस्तुको जाँचपास अहिलेका लागि रोक्नेबारेमा भन्सार विभागसँग समन्वय भइरहेको बताएको छ । ‘संक्रमणको जोखिम अधिक देखिएकाले यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको छ,’ वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहले भने ।
सुक्खा बन्दरगाहमा आउने मालसामानमध्ये रातो च्यानलमा पर्नेको परिमाण ३० देखि ३५ प्रतिशतसम्म रहने भन्सारले बताएको छ । तर, मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारमा यस्ता वस्तु ६० प्रतिशतसम्म आउने भएकाले सहजीकरणमा समस्या हुनसक्ने भन्सार अधिकारीहरू बताउँछन् ।
वीरगञ्ज नाकाका कर्मचारीले दिनहुँ भारतबाट मालसामान लिएर आएका चालक, सहचालक, स्थानीय सेवाग्राही र सरोकारवालासमेत करीब २ हजार मानिससँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपरेको साहले बताए ।
नाकामा खटिएका भन्सार कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा रहेको साहले बताए ।
राज्यले नाकामा खटिएका भन्सार कर्मचारीलाई प्रोत्साहन नगरेको कर्मचारीहरू बताउँछन् । संक्रमणको जोखिम मोलेर नाकामा काम गर्ने कर्मचारीको मनोबल उच्च राख्न आग्रह गर्दै ३ महीनाअघि वीरगञ्ज भन्सारले आफ्नो विभागलाई पत्राचार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस