aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
औषधि छैन

३ साता कडा लकडाउन गर्न प्रमलाई परामर्शदाताले सल्लाह दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
३ साता कडा लकडाउन गर्न प्रमलाई परामर्शदाताले सल्लाह दिने


काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई परामर्शदाताहरूले ३ सातासम्म कडा लकडाउन गर्न परामर्श सल्लाह दिने भएका छन् । परामर्शदाता डा.रविन्द्र पाण्डेले प्रम ओलीलाई कोरोना बढ्दै जाँदा यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न कडा लकडाउन गर्न सुझाउन लागेका हुन् ।  

देशभरका ७० स्थानमा अत्यधिक कोभिड संक्रमण बढ्दै गएकोले नाकाहरूमा कडा निगरानीका साथै सोही अनुरुपको लकडाउन गर्नुपर्ने बताएका हुन् । ‘देशभरका अस्पतालमा कतै पनि भेन्टिलेटर खाली छैन, कारोना बढ्दै गएको छ अझ बढ्यो भने विरामीलाई खुवाउने औषधि पनि छैन,’ यस्तो अवस्थामा लकडाउको विकल्प नभएको परामर्शदाताहरूले बताएका छन् ।   

काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग आज सामूहिक परामर्श गर्दै गर्ने भएका छन् । समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र त्रास र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार परामर्शदातासँग छलफल गर्न लागेको एक मन्त्रीले बताए । 

साउन ७ मा लकडाउन खुलेपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आएर घरपरिवारको सम्पर्कमा जान दिइएको छ । यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको हो । यसको रोगथामका लागि उपयुक्त विकल्प जे हुन सक्छ त्यहि कार्यान्वयनमा जानेछ ।’

लकडाउन गर्ने, कफ्र्यू लगाउने वा अन्य केही विकल्प हुन सक्छ त्यो गर्नै पर्ने अवस्था आएको उनले भने ‘सवारी साधन पनि जोडविजोर सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ ।’ ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, एक मन्त्रीले भने, ‘मंगलबार विज्ञहरूको सुझाव लिन्छौं, त्यसपछि सरकारले के गर्ने भन्नेमा निर्णय लिनेछ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । वर्तमान जटिल परिस्थितिमा आज मंगलबार विहान सञ्चार माध्यमसँग कुरा गर्दै डा. पाण्डेले ३ साता कडा लकडाउन गर्न उपयुक्त हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस