
एजेन्सी । इरानले कोरोनाबाट भएको मृत्युको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झण्डै तीन गुणा बढी भएको बीबीसीले जनाएको हो । इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४ हजार चार सय पाँच जनाको कोभिड–१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झण्डै ४२ हजार भएको देखिएको छ ।
सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको दुई लाख ७८ हजार आठ सय २७ नभइ चार लाख ५१ हजार २४ भएको देखिएको बीबीसीले लेखेको छ ।
बीबीसीलाई दिइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ कोरोनाका कारण पहिलो मृत्यु जनवरी २ तारिखमा भएको उल्लेख छ । यो इरानले पहिलो पटक सङ्क्रमण भएको दाबी गरेको मितिभन्दा एक महिना अगाडि भएको बीबीसीले उल्लेख गरेको छ ।
किन तथ्याङ्क लुकाइयो ?
जानकार चिकित्सकहरूका अनुसार स्वास्थ्य मन्त्रालयलाई सुरक्षा तथा जासुसी निकायहरूको दबाव छ। एक चिकित्सकले भने, ‘सुरुमा परीक्षण किट थिएन, जतिबेला आयो त्यसपछि त्यसको प्रयोग गरिएन। सुरक्षा निकायले इरानमा कोरोनाभाइरस नभएको देखाउन चाहन्थ्यो।’
कोमका दुई चिकित्सक दाजुभाईको अडानका कारण मन्त्रालयले पहिलो सङ्क्रमण भएको सार्वजनिक गरेको थियो। तर प्राप्त कागजातमा त्यति बेलासम्म त्यहाँ ५२ जनाको मृत्यु भइसकेको देखिन्छ।
डा. मोहम्मद मोलायी र डा. अलि मोलायीले आफ्नो अर्को भाईको मृत्यु भएपछि कोरोनाभाइरस परीक्षण गर्ने अडान लिए र त्यसको नतिजा पोजेटिभ आएको थियो। ती व्यक्तिको मृत्यु भएको कामकर अस्पतालमा अरू थुप्रै बिरामी उस्तै लक्षणहरूसहित भर्ना गरिएको तर उनीहरूको कहिल्यै परीक्षण नगरिएको देखिन्छ।
डा. मोलायीले सामाजिक सञ्जालमा भिडिओ हालेपछि मात्रै स्वास्थ्य मन्त्रालयले सङ्क्रमण भएको पुष्टि गरेको थियो। इरानको स्वास्थ्य मन्त्रालयले आफूले विश्व स्वास्थ्य सङ्गठनलाई पठाउने सङ्ख्या पारदर्शी र सही हुने गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस