
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमास (चैतसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९१ करोड ६१ लाख ५५ रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा २.७८% ले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा यसले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । यो जीवन र निर्जीवन दुवैतर्फको नाफा हो ।
भर्खरैमात्र आइपीओ जारी गरेको उक्त बीमा कम्पनीले चैत मसान्तसम्ममा जीवन व्यवसायबाट ९ करोड १० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ खुद नाफा प्राप्त भएको छ ।
यस कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ लाख ५० हजार रुपैयाँ र जीवन व्यवसायबाट ३१ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । जसअनुसार कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ बिमा शुल्क संकलन गर्न सकेको देखिन्छ ।
अघिल्लो वर्ष यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब २५ १७ लाख ५३ हजार र जीवन व्यवसायबाट २९ करोड ७४ लाख ५५ रुपैयाँ गरी ३ अर्ब ५४ करोड ९२ लाख ८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको थियो ।
तेस्रो त्रैमाससम्म यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको थियो । तर आइपीओ जारी गरेपछि यसको पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
तर कम्पनीले तेस्रो त्रैमासको रिपोर्टमा ८ अर्ब ४० करोड पुँजीलाई नै आधार मानेर वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ छ ।
बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित रहेको छ । हाल यस कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएर कारोबार समेत सुरु भइसकेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस