
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। समकक्षीको बिहीबार भएको सपथग्रहणपछि शुक्रबार भएको भेटवार्तामा ओलीले रुद्राक्ष उपहार दिएका हुन्।
भारतमा हिन्दु धर्मावलम्बीले रुद्राक्ष महत्वपूर्ण धार्मिक बस्तुका रुपमा पूजा गर्ने गर्छन्। आफ्नो सपथग्रहण समारोहमा अतिथिकारुपमा नयाँदिल्लीमा आएका नेपालका प्रधानमन्त्री ओलीलाई मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए । दिल्लीस्थित हैदरावाद हाउसमा करिब आधा घण्टा भएको भेटवार्तापछि ओलीले यस्तो उपहार दिएका हुन्।
भारतमा लोकसभा निर्वाचन जितेर दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको सपथ समारोहमा पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो । शिष्टाचार भेटवार्तामा दुबै मुलुकका प्रधानमन्त्रीले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै मुलुकको कुटनितिक सम्बन्ध अझै सुधारेर लैजनुपर्नेमा दुवै मुलुकका प्रधानमन्त्रीको जोड छ ।प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
के हो रुद्राक्ष ?
धार्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिवको रुप मानिन्छ। द्विमुखी गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इन्द्र र चौदहमुखी हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ ।
अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारी धागो छिराउन सकिन्छ। त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस