aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जथाभावी तरकारीको मूल्य बढ्दा पनि अनुगमन भएन्

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २२ साउन २०७७
जथाभावी तरकारीको मूल्य बढ्दा पनि अनुगमन भएन्

काठमाडौं । विगत ३ हप्तादेखि काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक रूपले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको ३ हप्तामा तरकारीको मूल्यमा २ सय ५० प्रतिशतसम्म वृद्धि भएको पाइएको छ । प्रभावकारी अनुगमनको अभावका कारण वर्षा लागेको बहानामा बिचौलियाहरू हाबी भई मूल्य अत्यधिक बढाइएको छ ।

साउन १ गते थोक मूल्य प्रतिकिलो १२ रुपैयाँ रहेको सानो गोलभेडाको मूल्य गएको ३ हप्तामा २ सय ५० प्रतिशतले वृद्धि भई ४२ रुपैयाँ पुगेको छ । घिउ सिमीको मूल्यमा करीब २ सय ३ प्रतिशतले वृद्धि भई प्रतिकिलो ३८ रुपैयाँबाट १ सय १५ रुपैयाँ कायम भएको छ ।

रातो आलुको मूल्य ३१ प्रतिशतले वृद्धि भई प्रतिकिलो ५१ रुपैयाँबाट ६७ रुपैयाँ पुगेको छ । तीते करेलाको मूल्यमा ८० प्रतिशतले वृद्धि भई प्रतिकिलो २५ बाट ४५ रुपैयाँ पुगेको छ । घिरौलाको मूल्यमा ५७ प्रतिशतले वृद्धि भई प्रतिकिलो ३५ बाट ५५ रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी रूपले अनुगमन गर्न नसक्दा बिचौलियाहरू हाबी भएकाले तरकारीको मूल्य अत्यधिक वृद्धि भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको बुझाइ छ ।

देखावटी अनुगमनले मूल्य वृद्धि नरोक्ने उनको भनाइ छ । बिचौलियाको प्रभाव कम गरी अनावश्यक मूल्य वृद्धि कम गर्न तिनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

कालिमाटी थोक बजारमा मूल्य वृद्धि भएपछि खुद्रा बजारमा पनि त्यही अनुपातमा मूल्य वृद्धि भएको छ । कालीमाटीमा भएको मूल्यभन्दा खुद्रा बजारमा दोब्बर तेब्बर मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको लौका खुद्रा बजारमा १ सय रुपैयाँ किलोसम्म विक्री भइरहेको पाइएको छ । त्यसैगरी प्रतिकिलो ६५ रुपैयाँको हरियो फर्सी खुद्रा बजारमा १ सय रुपैयाँ, प्रतिकिलो ३३ रुपैयाँ पर्ने बन्दा खुद्रा बजारमा ९० रुपैयाँसम्म विक्री भइरहेको छ ।

थोक बजारमा भन्दा खुद्रा बजारको मूल्यमा ठूलो अन्तर हुँदासमेत सम्बद्ध निकायले प्रभावकारी अनुगमन गर्न नसकेको उपभोक्ताको गुनासो छ ।

कीर्तिपुरको खुद्रा बजारमा तरकारी किन्न आएकी शान्ता महर्जनले केही दिनदेखि तरकारी महँगो हुँदा आफूजस्ता मध्यमवर्गका उपभोक्ता मारमा परेको बताइन् । सरकारी निकायले अनुगमन नगर्दा खुद्रा पसलेहरूले मनपरी मूल्य तोक्ने गरेकाले पनि मूल्यमा यति ठूलो अन्तर आएको हुन सक्ने उनको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने आफूहरूले निरन्तर बजार अनुगमन गरिरहेको दाबी गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आपूmहरूले बजार अनुगमन गरिरहेको र व्यापारीहरूले मनोमानी रूपमा मूल्य वृद्धि गरेको पाइए व्यापारीहरूलाई कारबाहीको दायरामा ल्याइने बताए ।

विगत केही दिनदेखि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आफ्नो दैनिक मूल्य सूचीमा खुद्रा मूल्यसमेत राखेको छैन । यसले गर्दा खुद्रा व्यापारीलाई मनोमानी रूपमा मूल्य तोक्न सजिलो बनाएको उपभोक्ताको तर्क छ । यस विषयमा विकास समितिमा बुझ्दा अहिले कालीमाटीमा खुद्रा व्यापार नभएकाले खुद्रा मूल्य तोक्न छोडिएको जानकारी दिइयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार यतिबेला तरकारीको उत्पादन कम हुनु, काठमाडौंमा मानिसहरूको चहलपहल बढ्दा तरकारीको खपत बढ्नु आदि कारणले मूल्यवृद्धि भएको हो । ‘अहिले वर्षात्को तरकारी सकिन लागेको र नयाँ तरकारी उत्पादन भइनसकेकाले मूल्य बढ्नु स्वाभाविक हो,’ उनले भने ।

सामान्य अवस्थामा दैनिक ८/९ सय टन तरकारी भित्रिने कालीमाटीमा हाल तरकारीको आयात घटेको छ । समितिको दैनिक विवरणअनुसार आइतवार ६ सय मेट्रिकटन, सोमवार ५ सय मेट्रिकटन, मंगलवार ६ सय मेट्रिकटन र बुधवार बिहानसम्म १ सय मेट्रिक टन तरकारी भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस