काठमाडौं । धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा बैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो । सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो ।
आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप छ ।
'एक त गत साउनदेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,' द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, 'नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबण्डा नमिल्दा तीन साता नपुग्दै रोकियो ।'
विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती कामका साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाईएको खाज पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए ।
प्रतिक्रिया दिनुहोस