
लेबनानको राजधानी बेइरुतकाे बन्दरगाहमा भएको विस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गएकाे मङ्गलबार विस्फोट हुँदा एक सय ५० जनाभन्दा बढीको ज्यान जानुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो ।
अमेरिकी भूगर्भ इन्स्टिच्युटले विस्फोटबाट ३ दशमलव ३ म्याग्निच्युडको भूकम्प बराबरको धक्का महसुस गरिएको जनाएको छ ।
विस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
लेबनानको मुटुमा भएको यस विस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् । बेरुइत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरुले बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल निर्णय लिन मन्त्रिपरिषदमा समेत प्रस्तावहरु यसअघि पठाएका भए पनि सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आम नागरिकको आक्रोश छ ।
फ्रान्सेली अनुसन्धानकर्तासँग मिलेर कार्य गरिरहेका लेबननका सुरक्षा अधिकारीले एएफपीलाई भने, 'विस्फोट भएको स्थानमा झण्डै ४३ मिटर अर्थात् १४१ फिट गहिरो खाडल बनेको छ ।'
फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबननमा परिचालन गरिसकेको छ । साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरु समेत बेरुइतमा क्रियाशील छन् ।
प्रतिक्रिया दिनुहोस