aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

उपत्यकामा एकै दिन तीन संक्रमितको मृत्यु

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, २७ साउन २०७७
उपत्यकामा एकै दिन तीन संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण देशभरिमा एकैदिन पाँचजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना काठमाडौं उपत्यकाका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

उपत्यकामा सोमबार मृत्यु हुनेमा कीर्तिपुर ट्यांलाफाँटका ६४ वर्षीय पुरुष हुन्। उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मिर्गौलाका रोगी उनी असार ३१ गते निमोनियाको समस्याले अस्पताल भर्ना भएका थिए। सोमबार नै मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको नेपाल मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। श्वास–प्रश्वासमा समस्या भएपछि उनलाई साउन २३ गते अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। मृतक पुरुषमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।  

त्यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी ५० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ। उनी काभ्रेकी हुन्। आइतबार उपचारका लागि भर्ना भएकी उनको सोमबार ४ बजे मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित पत्रकार सम्मेलनमा उनको मृत्युबारे जानकारी दिएको थिएन। उता बाँके, कोहलपुरकी ७० वर्षीया महिला र पर्सा, वेदियाही गाउँपालिका–१५ की ४५ वर्षीया महिलाको पनि बितेको २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

गत २४ घण्टामा देशभरिमा ३ सय ३८ जना संक्रमित थप भएका छन्। योसहित नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। तीमध्ये ७०.७ प्रतिशत अर्थात् १६ हजार ४ सय ९३ जना निको भइसकेका छन्। गत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको नमुना परीक्षण भएको छ। हाल देशभरिमा सक्रिय संक्रमित संख्या ६ हजार ७ सय ३८ छ। त्यसैगरी क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना छन्।  सोमबार काठमाडौं उपत्यकामा ४४ जना संक्रमित थप भएका छन्।

प्रतिक्रिया दिनुहोस