aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

ज्याला नपाएपछि आशिंक प्राध्यापक फेरि आन्दोलित, आज देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
ज्याला नपाएपछि आशिंक प्राध्यापक फेरि आन्दोलित, आज देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक (पार्ट टाइम) प्राध्यापकहरू फेरि आन्दोलित भएका छन् । यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।  

आन्दोलनस्वरुप नेपाल आंशिक प्राध्यापक संघले आज देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्न निर्देशन दिएको छ । आइतबार र सोमबार पनि देशका केही क्याम्पसमा तालाबन्दी गरिएको छ । 
 
अनलाइन कक्षा पढाएको महिनौँ बितिसक्दा पनि ज्याला नदिएको र चुलो निभ्ने अवस्थाको सिर्जना हुँदासमेत आफ्नो माग सुनुवाइ नभएपछि ताला लगाउन बाध्य भएको उनीहरुको भनाई छ । 

एक प्राध्यापकले आर्थिकन्युजसँग भने, ‘हामीले कात्र्तिकदेखि ज्याला पाएका छैनौँ । खाद्यान्न सकिएर हाम्रो चुलो निभ्ने अवस्थामा पुगिसकेको छ । हामीले कतिन्जेल भोको पेट लिएर भौतारिनु ?’ उनले थपे, ‘हाम्रो भोको पेटमाथी राजनिति भयो । हामीमाथि अन्याय भएको छ । हामीलाई न्याय चाहियो ।’

आंशिक प्राध्यापकको आर्तनाद: भोकले मर्ने भयौँ, पढाउन सक्दैनौँ

लकडाउनको केही समय लगत्तै वर्क फ्रम होम अन्तर्गत अनलाइन कक्षा समेत सञ्चालन गर्दै आएको उनीहरुले विज्ञप्ति मार्फत ज्याला नपाएको गुनासो गरेका थिए । आंशिक प्राध्यापकहरूको दीर्घकालीन व्यवस्थापनका लागि त्रि.वि.वि.ले माग गरेको १४२० दरबन्दीलाई २०७४ मंसिर ८ गते तत्कालीन मन्त्रीपरिषद्ले स्वीकृत गरेको थियो । लगत्तै नवगठित मन्त्रीमण्डलका अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा अघिल्लो मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयको पनि उल्लेख गरिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको थियो । 

लकडाउनका कारण हातमुख जोर्न समस्या पर्न थालेपछि विश्वविद्यालयलाई औपचारिक रूपमा  २०७७ बैशाख १९ गते नेपाल आंशिक प्राध्यापक संघले ज्ञापनपत्र समेत बुझाएको थियो । बैशाख मसान्तसम्ममा समस्याको हल दिन आग्रह गरिएको उक्त समय अवधिभर त्रि.वि. मौन बसेको उनीहरुले आरोप लगाएका छन । यतिका समय बितिसक्दा पनि न विश्वविद्यालय न राज्य कतैबाट पनि उनीहरुको समस्या समाधानका लागि कुनै पहल भएको छैन ।
 

प्रतिक्रिया दिनुहोस