aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द

काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए । 

“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ”, उनले पत्रकार सम्मेलनमा भने । 

मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस