aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

बुटवलमा भदाै ५ गतेसम्मका लागि लकडाउन, हिँडडुल गर्न २४ घण्टे अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
बुटवलमा भदाै ५ गतेसम्मका लागि लकडाउन, हिँडडुल गर्न २४ घण्टे अल्टिमेटम

बुटवल । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी थिए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माका अनुसार बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरूमात्र खुला रहनेछन् । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहनेछ । बुटवल हुँदै चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइनेछ ।

ढुवानीका साधनहरूलाई विशेष सुरक्षा अपनाएर सामान उठाउन र झार्न दिइनेछ । उद्योगमा काम गर्ने कर्मचारी तथा कामदारहरूलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर कार्यालय तथा सबै वडा कार्यालरूबाट हुने अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधामात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस