aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जगदम्बा स्टीलमा स्थानीयले ताला लगाएपछि प्रशासनले गर्‍यो सिल

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ३० साउन २०७७
जगदम्बा स्टीलमा स्थानीयले ताला लगाएपछि प्रशासनले गर्‍यो सिल

वीरगञ्ज  । बाराको सिमरास्थित जगदम्बा स्टील प्रालिले कोरोना संक्रमित भारतीय कामदारलाई भगाएको भन्दै स्थानीयले उद्योगमा तालाबन्दी गरेपछि प्रशासनले उद्योग सिल गरेको छ ।

बारा प्रशासनले बिहीवार उद्योगलाई सिल गरेको हो । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले बुधवार राति करीब १० बजे उद्योगको प्रवेशद्धारमा ताला लगाइदिएका थिए । उद्योगका १२३ जना कामदारको स्वाब परीक्षण भएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ६ जनालाई उद्योगले भगाएर लापरवाही गरेको स्थानीयले बताएका छन् । 

उद्योगका ११ जनामा चार दीनअघि कोरोना पुष्टि भएकाले बजार क्षेत्रमा पर्ने उद्योग सिल गर्न स्थानीयले दबाब दिएका थिए । उद्योग व्यवस्थापनले अटेर गर्दै उद्योग सञ्चालन गरिरहेकोमा बुधवार राति कन्टेनरमा राखेर २७ जना कामदार बाहिर निकालेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्योगमा ताला लगाइदिएको जीतपुर–सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताए । 

‘बजार क्षेत्रमा रहेको उद्योगमा संक्रमित भेटिएपछि कोरोना फैलिने त्रासले केही समयका लागि उद्योग बन्द गर्न भनेका थियौं । तर, उद्योगले उल्टै संक्रमित कामदार भगाएर अटेर गरेपछि स्थानीयबासिन्दा ताला लगाउन बाध्य भए,’ संयोजक पौडेलले भने । 

स्थानीयले ताला लगाएपछि बिहीवार दिउँसो बारा जिल्ला प्रशासन कार्यालयले उद्योग सिल गरिएको पत्राचार गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा अवधिभरि (साउन ३२ सम्म) उद्योग सिल गरिएको पत्र पठाएका छन् । यसअघि स्थानीयले उद्योग सिल गर्न आग्रह गर्दा प्रशासनले सुनुवाई गरेको थिएन । 

उद्योगले भने ६ जना संक्रमित कामदार भागेको दाबी गरेको छ । भागेको भनिएका ६ जना कामदार खोजेर दुई दिनभित्र आईसोलेशनमा राखेर अवस्था सार्वजनिक गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले जानकारी दिए ।

पाँच जना संक्रमितलाई उद्योगले नै सिमराको प्याराडाइज होटेल आईसोलेशनमा राखेको छ । बुधवार राति स्थानीयले समातेर होटेलमा राख्न लगाएका २७ जना कामदारलाई उद्योगले बिहीवार बिहानै होटलबाट भगाएको छ ।

बुधवार राति इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली गएर घटनाबारे जानकारी लिएकोमा उद्योगले होटलबाट कामदार भगाउँदा मुकदर्शक बनेको आरोप स्थानीयले लगाएका छन् ।  

उद्योगले मालसमान अनलोड गर्न पर्साको परवानीपुरबाट ती कामदारलाई ल्याइएको बताएको छ । प्रशासनले बाहिरबाट कामदार ल्याएर काममा लगाउन नपाइने र उद्योगभित्रै आवासीय व्यवस्था मिलाउनुपर्ने बताएको छ । 

उद्योगले स्थानीय प्रशासनको आदेशसमेत अवज्ञा गर्दै आएको छ । निषेधाज्ञाको प्रावधान उल्लंघन गरेर स्थानीयको स्वास्थ्यप्रति खेलवाड गरेको भन्दै उद्योगविरुद्ध संक्रामक रोग निवारण ऐनअन्तर्गत कारवाहीको माग गर्दै उजुरीसमेत दर्ता गरिएको संयोजक पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस