
एजेन्सी । अमेरिकी अर्वपति लगानीकर्ता वारेन बफेटसँगको लन्च लीलामीले नयाँ कीर्तिमान कायम गरेको छ । एक अज्ञात बोलकबोलकर्ताले बफेटसँग लन्च गर्न ४५ लाख ७० हजार डलर तिरेका छन् ।
बर्कशायर हाथवेका मालिक समेत रहेका बफेटसँग बिजेताले न्यूयोर्कको स्मिथ एण्ड बलेन्स्की स्टिकहाउसमा लन्च गर्ने अवसर पाउनेछन् । लन्चमा उनले आफ्नो साथमा अन्य सात जना ल्याउन पाउनेछन् ।
लीलामीबाट उठेको यो रकम सन् २०१२ को तुलनामा १० लाख डलर बढी हो । त्यतिबेला एक अज्ञात बोलकबोलकर्ताले बफेटसँग लन्च गर्न ३४ लाख ६० हजार डलर तिरेका थिए । लीलामी अनलाइन लन्च इबेमा गत आइतबारदेखि सुरु भएर शुक्रबार सकिएको थियो ।
लीलामीबाट उठेको रकम सन फ्रान्सिस्कोस्थित परोपकार संस्था ग्लाइडलाई दिईनेछ । बफेटले समर्थन गर्दै आएको संस्थालाई दिन सन् २००० देखि वार्षिक लन्च लीलामी गर्दै आएका छन् । अहिलेसम्म लीलामीबाट मात्र साढे ३ करोड डलर संस्थाले पाईसकेको छ ।
प्रतिक्रिया दिनुहोस