
एजेन्सी । विश्व नै कोरोनाको कहरमा रहेका बेला कोरोना भाइरस बिरुद्धको खोपको विकाश भएको खबरले उत्सवको वातावरण सिर्जना भएको हुनुपर्ने तर यति धेरै उदासीनता किन ? यो आजको निकै पेचिलो प्रश्न हो जसको जवाफ त्यति सहज रुपमा पाउन सकिंदैन।
अर्कोतिर हेर्ने हो भने खोप निर्माता मुलुक रूस यसको आपूर्ति गर्न तयार छ। तर, मलाई यति डोज चाहियो भनेर विश्व भरका मुलुकबीच प्रतिष्पर्धा हुनुपर्नेमा त्यस्तो देखिएको छैन। यस्तो अनपेक्षित अवस्था किन सिर्जना भैरहेको छ। यो अर्को खोजीको बिषय हो।
हाम्रै छिमेकी मुलुक भारतमा कोरोनाका कारण अवस्था निरन्तर नराम्रो हुँदै गइरहदा पनि रूसी खोपको बारेमा त्यहाँ उत्साह देखिदैन । भारतको तुलनामा ब्राजिल झन् गम्भीर ढंगले कोरोना भाइरसको चपेटामा परेको छ। तर, त्यो देशले पनि खोपको खरिदमा चासो देखेको छैन। त्यहाँ एक लाख भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ। यसको बावजुद ब्राजील रूसी खोपको बारेमा शंकास्पद र उदासीन रहेको देखिन्छ। रसियन खोप किन्नु भन्दा पहिले सो खोपको बिषयमा धेरै सूचना चाहिने ब्राजीलको भनाई छ।
ब्राजिलका स्वास्थ्यमन्त्रीले बिहीबार रुसी खोपको बारेमा अझ बढी जानकारी प्राप्त गर्ने बताएका थिए। ब्राजिल कोरोना भाइरसको शिकार बनेको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो ।
त्यसो त ब्राजिल आफैंले पनि खोप परीक्षण सञ्चालन गर्दै आएको छ। ब्राजिलका स्वास्थ्यमन्त्री एडुआर्डो पाजुएल्योले रसियन खोप अहिलेसम्म शुरुवाती चरणमा रहेको बताउंदै सो किन्ने हतारोमा नलाग्ने संकेत गरे । खोप भर्खरै आएको हुनाले र खोपको बिषयमा विस्तृत जानकारी नरहेको उनले बताए ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रूसले अमेरिकालाई कोभिड(१९ लाई सम्बोधन गर्न आफ्नो खोप दिने प्रस्ताव गरेको थियो तर अमेरिकाले त्यस्तो सहयोग लिन अस्वीकार गरेको छ।
सीएनएनलाई एक रूसी अधिकारीले भने, ‘दुबै मुलुकमा विश्वासको कमी छ, त्यसैले प्रविधि, खोप, परीक्षण र उपचारमा सहयोग सायद सम्भव छैन ।’ तर, भारतले भने रसियाको खोपको बिषयमा आधिकारिक रूपमा केही भनेको छैन।
प्रतिक्रिया दिनुहोस