aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आर्थिक बहसः

‘नेपालका प्रत्येक घरलाई संसारसँग जोड्ने कोशिसमा छौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
‘नेपालका प्रत्येक घरलाई संसारसँग जोड्ने कोशिसमा छौं’

ठुलो उतार चढाव र सङ्घर्षले पकाएको नेपालको एक टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी हो, डिसहोम। लगभग नेपालमा ताररहित टेलिभिजन च्यानल सञ्चालनको 'पाथ फ़ाइन्डर' नै भन्दा हुन्छ, यो संस्थालाई। स्थापनाको लामो समयसम्म घाटामा जाँदा पनि धैर्यता कायम गरेर एक सूत्रीय ढंगले आफ्ना ग्राहकको सेवामा समर्पित हुँदा अहिले नाफा वितरण गर्ने अवस्थामा आइपुगेको यो कम्पनीको 'यात्रा गाथा' वास्तवमा नै प्रेरणादायक छ। डिसहोमको सङ्घर्ष कथा, हालको स्थिति, क्लिनफिड लगायतका विषयमा यसको धारणा, वर्तमानमा उपलब्ध सेवा र भावी योजना लगायतका विषयमा कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यसँग आर्थिकन्यूज डटकमका विजय फुयाँलले कुराकानी गरेका छन्।  प्रस्तुत छ, सो संवादको सम्पादित अंश :   

डिसहोमको आजसम्मको व्यवशायिक यात्राबारे संक्षेपमा बताइदिनुस्न ?

डिसहोमले शुरुवाती चरणदेखि नै विभिन्न अप्ठ्याराहरूको सामना गर्नुपर्यो। धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको हो । वास्तबमा यो विजनेश नराम्रो होइन, तर शुरुका दिनमा हामीले ठिक तरिकाले ब्यापार गर्न सकेनौं कि जस्तो लाग्थ्यो। हामीले केही बुझ्न सकेनौ भन्ने लागेको थियो । किनकी शुरुमा हामी एकदमै घाटामा थियौं । अवस्था कस्तो सम्म थियो भने बोर्ड मिटिङमा बस्दा संचालक साथीहरु '२० करोडको कफि खाइयो है' समेत भन्नु हुन्थ्यो । तर, अप्ठ्यारो परिस्थितिमा पनि हामीले निराश नभइ काम गर्यौ। र,अहिले आम ग्राहकको हामी प्रतिको विश्वास बढ्दै गएको छ ।


खासमा शुरुमा हामीले यो विजनेशको नेचर यस्तै हुन्छ भन्ने बुझेका नै थिएनौं । लगानीकर्ताको हिसावले हेर्दा डिसहोममा लगानी गर्नु एक किसिमको मुर्खता नै पनि थियो। व्यावसायिक रुपमा यो व्यवसायमा मेरो केहि अनुभव नभएको भए शायद म यो प्रोजेक्टमा हात नै हाल्दिन थिएँ। त्यसबेला लगानी गर्ने तयारीमा रहेर पछी मन बदल्ने साथीहरूले भन्नु भएको थियो –‘यो प्रोजेक्ट भनेको बाघको घोडा जस्तै हो ‘झर्यो भने खान्छ, चढीराख्दा पनि जोखिम नै हुन्छ।’ हुनपनि, त्यति बेला जसले छोड्यो, उसले जान्यो भन्ने अवस्था थियो । तर, अहिले यसको विपरित अवस्था आएको छ । व्यवसाय राम्रो भएको छ । नयाँ नयाँ प्रोडक्टहरू लन्च गरेका छौं । ग्राहकहरू हाम्रो सेवाबाट खुशी हुुनुहुन्छ ।

यो वर्षबाट सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी गर्नु भएको छ, कति पाउँछन् सेयरधनीले लाभांश ?

सन् २०१५ मा आउँदासम्म हामीले स्याटलाइट स्विच प्रयोग गरेका कारण धेरै पैसा तिर्नुपर्ने अवस्था थियो । हामीले डेढ सय करोडको घाटा पूर्ति गर्नुपर्ने थियो । यसलाई रिकभर गर्न नै  हामीलाई समय लाग्यो । अहिले सबै रिकभर गरिसकेका छौं । घाटामा हुँदाहुँदै पनि हामीले सरकारलाई २५ प्रतिशत कर तिरिरहेका थियौं । त्यसले गर्दा कम्पनलिाई अगाडि बढाउन आफ्नै अप्ठ्याराहरूसँगै विभिन्न च्यालेन्जहरू पनि थिए ।

हाम्रो टिम लगायत बोर्ड मेम्बरहरूले कम्पनी चलाउन पैसा थप्नु भयो । यो सँगै विभिन्न कुरामा सहयोग गर्न पछि हट्नु भएन । ग्राहकहरूले पनि टेक्निकल कुराहरू बुझ्दै जानुभयो । यी सबै कुराहरू मिल्दै गयो । त्यसले गर्दा सन् २०१५ पछि हामीलाई सहज हुँदै गयो । त्यसअघि पनि ग्रोथ हुँदै गएको थियो तर, त्यो सानो–सानो ग्रोथ थियो । सन् २०१८ मा वल्डकप भएकोले पनि हामीले धेरै नै चेञ्ज गर्न सक्यौं । यो वर्ष हामीले अन्त्यमा मै भएपनि ओभर द टर्न रिजल्टमा आइसकेका थियौँ । अब यो वर्षभने लाभांश नै बाड्न सकिन्छ भन्ने विश्वास छ । तर, कति चाहीं अहिले भन्न सकिदैन ।

हाल डिसहोमको ग्राहक कति छन् ?
 
अहिले १५ देखि १६ लाखको बीचमा डिसहोमका ग्राहक छन् । उहाँहरूले हामीलाई धेरै माया गर्नु भएको छ ।

क्षेत्रगत हिसावले हेर्दा डिसहोमको सेवा कस्तो छ ? सबैतिर एकै प्रकारको सेवा छ ?

तराईमा अझैपनि खुल्ला रुपमा इन्डियन डिटिएस बिक्रि वितरण भइरहेको अवस्था छ । ग्राहकले प्रयोग गर्ने मात्र होईन कि बिक्रि वितरण नै सहज तरिकाले भइरहेको छ । यसलाई रोक लगाउनु पर्छ भन्ने हाम्रो माग हो ।

सरकारले क्लिनफिड लागू गर्ने भनेको छ । सरकारले यो नीति लागू गर्ने हो भने विदेशी डिटिएसलाई विस्थापित गर्नुपर्ने हुन्छ । आजकै दिनमा पनि हेर्ने हो भने १५ प्रतिशतले विदेशी डिटिएस हेरिरहेका छन् । काठमाडौं मै पनि १०–१५ प्रतिशत भएको हामीले आँकलन गरेका छौं । छाता हाम्रो प्रयोग गरेर विदेशी डिटिएस चलाइरहेको अवस्था समेत छ । यसलाई पनि डिस्करेज गर्नुपर्ने हुन्छ । यो नगरी अगाडी बढ्यौँ भने क्लिनफिड सक्सेसफूल हुँदैन । अहिले पनि ग्राहकहरू डिसहोमबाट एकदम सन्तुष्ट छौँ भन्नुहुन्छ। उहाँहरुको गुनासो चाहिँ महँगो भो भन्ने हो।

क्लिनफिड लागू गर्न तपाईहरूको योजना के छ ? सरकारले यसमा कस्तो भूमिका खेलिरहेको छ ?

क्लिनफिड याने कि विज्ञापनरहित प्रसारण यो खास हामीलाई लागू गर्न लागिएको होइन । सरकारले यो विदेशी च्यानलको लागि ल्याएको हो । तर, सरकारले विदेशी च्यानलहरूसँग वार्ता नै गरेको छैन । एउटा चिठी लेखेर अब आउने च्यानलहरू क्लिनफिड आउनुपर्ने छ मात्र भनेको छ ।

विदेशी बोर्डकास्टहरूमा यो क्लिनफिड कहिले लागू हुन्छ ?

यसका लागि हामीलाई के गर्नु पर्ने हो भनेर सोध्नुहुन्छ । यसमा कन्फ्युजन भएको जस्तो छ । कसरी लागू गर्ने ? कसरी लागू गर्दा सहज हुन्छ ? नेपाली विज्ञापन हाल्न पाइन्छ कि पाइदैन ? बीचमा ब्ल्याक नै राख्नु पर्ने हो कि भनेर हामीलाई सोधिएको छ । यसमा अझै पनि क्लियर भएको अवस्था छैन ।

हामीले दुई वर्ष अघि क्लिनफिड कस्तो हुन्छ भनेर 'प्रमो' जस्तो दिएका थियौं । त्यतिबेला हामीलाई ग्राहकहरूले धेरै नै गाली गर्नुभयो । सरकारले पनि हामीलाई गाली गर्यो ।

भोलीका दिनमा यसरी नै च्यानलहरू आउँदा सरकारले के गर्छ होला ?

सरकारले कार्तिक ८ गतेदेखि क्लिनफिड लागू हुन्छ भनेको छ त्यतिजेलसम्म पुरानो लाइसेन्सले काम गर्छ । त्यसपछि क्लिनफिडमा गएन भने लाइसन्स रद्द हुन्छ भन्ने हिसाबले पत्र लेखेको छ । त्यसकै आधारमा सबैले 'ओके' गरेरे लाइसेन्स लिएका छन् । तर, त्यो बाहेक अर्को कम्युनिकेसन भएको जस्तोे मलाई लागेको छ ।

हामीले विदेशी च्यानलहरू बोर्डकास्ट गर्नेहरूलाई सोध्दा पनि पत्रमा भएभन्दा बाहेक कम्युनिकेसन भएको उनीहरूमा पनि जानकारी छैन । उनीहरूले उल्टै हामीलाई नै सोधिरहेका छन् । उनीहरूले सिधै आएर सोधिरहन पनि सकिरहेका छैनन् भने सरकारले पनि बोर्ड गठन गरेर नियमन गर्ने भनेको छ तर, अहिलेसम्म गरेको छैन । यसले कन्फ्युजन गराइरहेको छ ।
 
विदेशी च्यानल विज्ञापनरहित हुनुपर्छ भनेर विधेयकमा लेखिएको छ । त्यहाँ आएका विज्ञापन भनेको एउटा 'फिल्ड' विज्ञापन हुन्छ । एउटा 'एस्ट्रन' विज्ञापन हुन्छ । स्पोर्ट कन्टेन्टहरूमा त पहिला नै 'इन्ट्रिग्रेटेड' विज्ञापन हुन्छ । जुन चाहिँ निकाल्नै नमिल्ने हुन्छ । यस्तो बेलामा सरकारलाई घाटा हुन्छ कि नाफा हुन्छ ? त्यो कुरामा पनि ध्यान पुर्याउनु पर्छ । '

विज्ञापनरहित कसरी बनाउने ? यो उतै बनाएर पठाइन्छ कि नेपालमा फिल्टरिङ गर्ने हो ?

यो टेक्नोलोजी हो । नेपाली विज्ञापन मात्र हाल्ने हो भने नेपाली विज्ञापन मात्र बज्ने बनाउनु पर्यो । विदेशी हाल्ने हो भने सोही अनुसारको सेटिङ गर्नुपर्छ । के गर्ने/नगर्ने ऐनको कुरा हो ।

विदेशी च्यानलहरूलाई विज्ञापनरहित बनाउनका लागि इन्डिया कै कुरा गर्ने हो भने १२० भन्दा बढी च्यानलहरू छन् । त्यसलाई विज्ञापनरहित बनाउन एउटै च्यानलको ५ देखि ७ करोडसम्म लाग्छ भनिएको छ । के यो सम्भव हुन्छ ? यदि ती च्यानलहरूलाई छुट्टाछुटै प्रशारण गर्नु पर्यो भने 'इन्डिभिज्यूल्ली' गर्दा त्यति खर्च लाग्छ । त्यो खर्च उनीहरूले गर्नेवाला छैनन् । त्यो अवस्थामा यस्तो च्यानलहरू आउँदै नआउने सम्भावना बढी हुन्छ । किनभने त्यो खर्च हामीले पनि तिर्न सक्दैनौँ । त्यो भन्दा त टाटा स्काइ सस्तो पर्ने भयो । यसले गाइड नै अर्कै तिर हुने भयो ।

हामीले के भनिरहेका छौं भने क्लिनफिड लागू गर्दा ग्राहकहरूलाई पनि मार्का नपर्ने गरेर कार्यान्वयन होस् । यहाँ आएका बोर्डकास्टरहरूको कन्टेन्ट पनि हामीले डेलिभरी गरिदिइरहेका छौं । भोलि हामीले डेलिभरी गर्ने कस्टुमरको रेस घट्यो भने यहाँका बोर्डकास्टरहरूको पहुँच घट्छ। यसको बजारमा ठूलो असर पर्छ । हामीले क्लिनफिडलाई कसरी हुन्छ सहज बनाउने भनेर सल्लाह गर्न आवश्यक छ ।

कसरी क्लिनफिड लागू गर्दा सफल भइन्छ त ?

पहिलो कुरा त ग्राहकलाई पनि फरक नपर्ने र सरकारको राजस्व पनि बढ्ने तरिका भनेको विदेशी च्यानल होस् कि स्वदेशी च्यानल होस् विज्ञापन चाहिँ बज्न पाउनुपर्छ । विज्ञापन नै बज्न नहुने कुरा गर्नु हुन्न भन्ने लाग्छ किनभने अहिले इन्टरनेटका विभिन्न प्लेटफर्ममा पनि नेपाली विज्ञापन बजिरहेका छन्।  यो कोणबाट सोचाइबाट आउनु पर्ने हो ।

संसारमा कहि कतै पनि यस्तो नियम छैन । पैसा तिरेपछि विज्ञापन राख्न हुँदैन भन्ने सिकाइएको छ । म यसमा के भन्छु भने पैसा तिरेपनि नतिरे पनि यो विजनेश मोडलको कुरा हो । यसमा के हुन्छ भने तपाईले पैसा नतिरेर विज्ञापन मात्र हेरेर पनि केहि कुरा बेच्न सक्नुहुन्छ । अर्को कस्तो हुन्छ भने तपाईले थोरै चार्ज गर्नुहुन्छ विज्ञापनबाट धेरै पैसा उठाउन सक्नुहुन्छ ।

अर्को, थर्ड मोडल भनेको विज्ञापन तपाईले राख्दै राख्नु हुन्न तर त्यो विजनेशको भ्यालू प्रिमियममा राख्नुहुन्छ र प्रिमियममा पैसा चार्ज गर्नुहुन्छ । यी तीन मोडलहरू हुन्छन् । अहिले चलिरहेको मोडल भनेको विज्ञापन पनि आउने ग्राहकले पैसा पनि तिर्ने हो । यसले ओभरल विजनेशलाई सपोर्ट गर्छ ।

पछिल्लो समय डिसहोमले इन्टरनेट सेवा पनि शुरु गरेको छ ? कुन कुन ठाउँमा पुर्याउनु भयो सेवालाई ?

इन्टरनेट सेवा अहिले हामीले भैसिपाटी एरियामा शुरु गरिसकेका छौं । बौद्ध, जोरपाटी, कपन, बानेश्वर ती एरियामा पनि शुरु हुँदैछ । अब छिट्टै पेप्सीकोला, जोरपाटी, गल्फुटार, स्वयम्भुमा शुरु गर्नेछौं । काठमाडौं बाहिर हेटौडा, इटहरी, विराटनगरमा पनि शुरु गरेका छौँ ।

नेपालभर कसरी जाने योजना बनाउनु भएको छ ?

हामीले नेपालभरी नै सो सेवालाई लैजाने प्लान गरेका छौँ । त्यसमा तार नै टाग्नु पर्ने हुन्छ । कोरोना भाइरसका कारण हामी अलिक अप्ठ्यारोमा पनि परेका छौं । हामीले धेरै गृहकार्य पनि गरिरहेका छौ । दूरदराजमा पनि इन्टरनेट प्रवाह गर्नेछौँ  । दूरदराजमा पनि स्याटेलाइटबाट जाने तयारी गरिरहेका छौं । तर, अलिक बढी खर्च लाग्ने भएकोले हामी अलमलमा रहेका हौं । यसका लागि सरकारले केहि सहयोग गरिदिए हामीले यो सेवा सहजै पुर्याउने थियौं ।
 
पछिल्लो समय मानिसहरू मोबाइलमा बढी केन्द्रित भएका छन्, यस्तो अवस्थामा डिसहोमले आफ्नो सेवामा आकर्षित गर्नलाई के कस्ता योजना बनाइरहेको छ ?

हाम्रो डिसहोमको एप छ । अहिले हामीले २० वटा च्यानल दिइरहेका छौँ । डिसहोमका ग्राहकहरूले अहिले एडिसनल पैसा नतिरीकन हेर्न सक्छन् । यो एपबाट भोली हामीले भिडियो कनटेन्टदेखि लिएर अरु किसिमका विभिन्न सुविधाहरू दिन्छौँ ।

हाम्रा कतिपय ग्रामीण एरियामा भएका सेटअप बक्सहरूमा इन्टरनेट जोडेर वाइफाईसँग जोड्न मिल्छ । त्यहि बक्समा इन्टरनेट जोडेर एक्सभिओबी भनेर शुरु गरेका छौँ । यसमा हामीले विभिन्न कन्टेन्टहरू राखेका छौँ । कतिपय फ्रि पनि छन् भने कतिपय पैसा तिर्नु पर्ने छन् ।

डिसहोमका आईपीओ जारी धितोपत्र बोर्डले स्विकृती पनि दिइसकेको छ । अब आम सर्वसाधरणले डिसहोमको आईपीओ कहिलेबाट खरिद गर्न पाउँलान् ?

हामीले कोशिस गरेको सेप्टेम्बर देखि गर्ने भनेर हो । यसमा विभिन्न कागजपत्र पुर्याउनुपर्ने, स्विकृतीको लागि टाइम लाग्ने अवस्था छ । अहिले हामीले करिब २३ करोड ८५ लाख कित्ता सेयर सर्वसाधरणको लागि आईपीओ छुट्याएका छौँ ।

डीसहोमको भावी योजना के छ ?

हाम्रो पहिलो लक्ष्य भनेको प्रत्येक घरमा डिसहोम पुर्याउने नै हो । इन्टरनेटलाई पनि जोडेर दूरदराजमा यसको सेवा पुर्याउने हाम्रो इच्छा हो । नेपालको प्रत्येक घरलाई इन्टरनेट र टेलिभिजनको माध्यमबाट संसारसँग जोड्ने कोसिश गरिरहेका छौँ । तन मन लगाएर ग्राहकलाई खुशी बनाउन काम गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस