aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

टेलिकमको यो सेवा २०७७/७८ देखि बन्द हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ३१ साउन २०७७
टेलिकमको यो सेवा २०७७/७८ देखि बन्द हुने

काठमाडौं । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७र७८ देखि बन्द हुने भएको छ । 

दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर गर्दै टेलिकमले यो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत आवमै टेलिकमले सीडीएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरिसकेको थियो ।

चालू आवको वार्षिक कार्यक्रममै कम्पनीले सीडीएमएका विद्यमान प्रयोगकर्तालाई जीएसएमका टुजी, थ्रीजी र फोरजी प्रयोगकर्ताका रूपमा ‘माइग्रेट’ गर्ने योजना बनाइसकेको छ । यद्यपि यसरी प्रयोगकर्ता माइग्रेट गर्दा कुन विधिबाट गर्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनले अहिलेकै सीडीएमए नम्बरलाई जीएसएम नम्बरका रूपमा प्रयोग गर्ने अथवा पोस्टपेड नम्बर दिने भन्ने विषयमा छलफल गरिरहेको बताए । उनले सीडीएमए सेवा बन्द गर्न यसको बीटीएस भएका स्थानमा टुजी अथवा थ्रीजी टावर राख्नुपर्ने भएकाले सकेसम्म यसै आर्थिक वर्षमा यो परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।  

नेपाल टेलिकमले हाल ८ सय मेगाहर्ज ब्यान्डमा ६ मेगाहर्ज फ्रिक्वेन्सीको प्रयोग गरेर सीडीएमए सेवा उपलब्ध गराइरहेको छ । अर्को १९ सय मेगाहर्ज ब्यान्ड पनि सीडीएमएका लागि तोकिए पनि त्यस अन्तर्गतका सबै फ्रिक्वेन्सी फोरजी उपयोगका लागि १८ सय मेगाहर्ज ब्यान्डमा समाहित गरिएपछि उक्त ब्यान्ड हाल नेपालमा प्रयोग छैन ।

सीडीएमएका लागि प्रयोग भइरहेको ८ सय मेगाहर्ज ब्यान्डलाई पनि नयाँ प्रविधिको फोरजी सेवाका लागि उपयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको सुझाव अनुसार रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्णय गरेपछि उक्त ब्यान्डबाट सीडीएमए सेवा विस्थापित गर्ने प्रक्रिया अघि बढेको थियो । टेलिकमले सोहीअनुसार सीडीएमए सेवा पनि बन्द गर्ने प्रयास थालेको हो ।

प्रतिक्रिया दिनुहोस