aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
त्रिभुवन विमानस्थलमा पार्किङदेखि ह्यांगर र पसल भाडासम्ममा अनियमितता

त्रिभुवन विमानस्थलमा पार्किङदेखि ह्यांगर र पसल भाडासम्ममा अनियमितता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
त्रिभुवन विमानस्थलमा पार्किङदेखि ह्यांगर र पसल भाडासम्ममा अनियमितता

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा सावित हुँदै गएको छ । विमानस्थल भन्सारबाट हुने आर्थिक अनियमितता, कमिसन र तस्करीसँगको मिलेमतोपछि अब भौतिक पूर्वाधारमा पनि अनियमिता हुन थालेको छ । 
विमानस्थलमा निर्माण भएका भौतिक पूर्वाधारमा विमानस्थल व्यवस्थापनसँग मिलेमतो गरेर करोडौं रुपैया अपचलनदेखि अनियमित तरवरले प्रयोग गरेको तथा भ्रष्टाचार भएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । 

प्रतिवेदनका अनुसार विमानस्थल व्यवस्थापनले भाडामा लगाएका पसल कवचमा हुने करोडौं रुपैयाँको चलखेल, विदेशी वायुसेवालाई सहजता प्रदान गरेर लिने कमिसन गर्छन् । भवन निर्माणमा भएको अनियमितता, पार्किङ, भवन बनाउँदा भएको भ्रष्टाचार, ह्याङगर निर्माणका नाममा देखिएको भ्रष्टाचारसहित दर्जनौ शीर्षकमा प्राधिकरणसँगको मिलेमतो गरेको भेटिएको छ । कर्मचारीले गर्ने व्यवहार र भन्सार र अवैध समानमा कर्मचारीले आर्थिक अनियमितता गर्ने आरोप लागेको विमानस्थलमा अब पूर्वाधार निर्माणमा पनि आर्थिक लाभको गतिविधि बढेको उल्लेख छ ।

बुट मोडलको पहिलो पार्किङ भवन बनाउँदा करोडौ अनियमितता 
निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटको पूर्वतर्फ निर्माण गरेको पार्किङ भवन अवैधानिक तवरले पाँच तला ठडिएको छ . यो भवन ५० रोपनी १५ आना ३ दाम १ पैसा क्षेत्रफल निर्माण भएको छ । यो भवन निर्माणमा प्रयोग भएको जग्गामा व्यवासायी दीपक मलहोत्राले पार्किङ घरका नाममा व्यावसायिक भवन निर्माण गरेका छन
उनले नेपाल यो भवन २१ महिनाभित्र बनाइसक्ने र ३० वर्षपछि प्राधिकरणलाई फिर्ता गर्ने गरी २०६९ कात्तिक २ गते सम्झौता गरेका थिए । उनले यो भवनमा जुन सहमति गरे त्यो भन्दा विपरित निर्माण भयो ।

निर्माण व्यवसायीले सम्झौतामा नभएको भूमिगत पार्किङ निर्माण गरेको, स्वीकृत डिजाइन अनुसार नभएको, भवनको उचाई ३७ फिट हुनुपर्नेमा ५२ फिट पुराएको, भवन सुरक्षाको कुनै मापदण्ड पालना नगरेको र प्राधिकरणको दैलोम भएको यस्तो काममा प्राधिकरण नै अनविज्ञ हुनमा मिलेमतो स्पष्टै रहेको प्रतिवेदनमा उल्लेख छ । यो भवन निर्माणमा परेको सम्झौता विपरितको कार्यको छानविन गर्नुपर्ने र निर्माण कम्पनीले प्राधिकरणलाई ७८ लाख रुपैयाँ वार्षिक भाडा बुझाउने सम्झौता कार्यान्वयन नभएकोले उक्त रकम अशुलसहितको कारवाही र यसको छानविन गर्नुपर्ने पनि उल्लेख छ । 

पसल कवलको भाडामै अनियमितता
प्राधिकरणको नियमावली, २०६७ (संशोधनसहित २०७२) मा प्रत्येक पसल कवल भाडा अधिकतम ३ वर्षको हुने र सो पश्चात् पुनः बोलपत्रको माध्यमबाट भाडामा लगाउनुपर्ने उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेका ६० पसल कवलमध्ये १८ पसल कवल र प्राधिकरणबीच विवाद रहेको छ । ती पसल मध्ये केही विगत पाँच वर्षदेखि निरन्तर सञ्चालनमा रहेका छन । बोलपत्रको माध्यमबाट पसल कवल व्यवस्थापन नगरी पुरानो दरमा भाडा लगाउँदा प्राधिकरणलाई आर्थिक नोक्सान भएको छ । समयमै विवाद समाधान गरी प्रतिस्पर्धात्मक रूपमा पसल कवल सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

धरौटीमा चलखेल 
विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ४ को उपनियम (घ)मा वायुसेवा कम्पनीले उडान संचालन गर्नु पूर्व ३० लाख रुपैयाँ प्राधिकरणलाई अग्रिम धरौटी बुझाउनुपर्ने व्यवस्था छ । यस्तै विमान उडान सम्बन्धी निर्देशिका, २०६९ मा अन्तर्राष्ट्रिय वायुसेवा संचालक संस्थाबाट प्रत्येक उडानको सिट क्षमताको आधारमा एक महिनाको यात्रुसेवा सुविधा शुल्क र आन्तरिक वायुसेवा संचालक कम्पनीले १५ दिन बराबरको धरौटी राख्नुपर्ने व्यवस्था छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ३० अन्तर्राष्ट्रिय तथा १८ आन्तरिक वायुसेवा कम्पनीबाट नियम बमोजिम राख्नुपर्ने ६५ करोड २१ लाख ४१ हजार धरौटी लिएको लिएको छैन । यस्तो धरौटी नलिनुमा वायुसेवासँगको मिलेमतो भएकोले तत्काल अशुल गर्नुपर्ने उल्लेख छ

पसल भाडामा अनियमितता
प्राधिकरण र एक निजी फर्मसँग अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रथम तल्लाको प्रस्थान कक्षको १० वर्गमिटर र आगमन कक्षमा १८ वर्गमिटर क्षेत्रफलमा पसल संचालनका लागि भाडामा दिने सम्झौता भएको छ । सम्झौतामा कुल बिक्रीमा १५ प्रतिशत रोयल्टी लिने र उक्त रकम पछिल्लो महिनाको ७ गतेभित्र भूक्तानी गर्नुपर्ने उल्लेख छ ।

सो सम्झौताको अवधिभित्र थप ३ वर्षका लागि१ करोड २७ लाख लिन बाँकी हुँदाहुँदै नवीकरण भइसकेको छ । गत असारसम्ममा यसबाट ६ करोड ७१ लाख लिनुपर्ने भएको छ । प्राधिकरणले पछिल्लो पटक म्याद थप गर्दा निजी कम्पनीसँग सम्झौता गर्दै भाडा नवीकरण गर्दा प्राधिकरणलाई करोडौ रुपैयाँ घाटा भएको उल्लेख छ । यस्तो रकममा पनि मिलेमतो स्पष्ट देखिन्छ । 

ह्याङ्गर निर्माणमा अनियमितता
विमानस्थल सेवा शुल्क विनियमावली, २०६७ को विनियम १८ को अनुसूची– १५ वमोजिम ह्याङ्गर निर्माणको लागि दिइने जग्गा बहाल प्रति महिना प्रतिवर्गमिटर २५० रुपैयाँ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालय र एक संस्थाबीच २२ मे २०१२ मा कार्गो भवनको पश्चिम तर्फको १ हजार १०५.७९ वर्गमिटर जग्गा यात्रु तथा सामान ओसार पसार, गोदाम कार्यालय तथा भण्डारणको लागि १ फ्रेब्रुअरी २०१२ देखि २१ जनवरी २०३२ सम्म २० वर्षका लागि भाडामा लिने दिने गरी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रति वर्गमिटर वार्षिक १७५ रुपैयाँका दरले भाडा लिने उल्लेख छ ।


नियममा मासिक उल्लेख भएकोमा दररेट घटी हुने गरी सम्झौतामा वार्षिक दर रेट उल्लेख गरेका कारण सम्झौता सुरु भए देखि २०७५ आषाढ मसान्त सम्म कुल एक करोड ८९ लाख ९३ हजार रुपैयाँ प्राप्त हुनुपर्नेमा १५ लाख ७६ रुपैयाँ हजार मात्र प्राप्त भएको देखियो । यसरी नियमको व्यवस्था भन्दा घटी हुने गरी सम्झौतागर्ने पदाधिकारीलाई जिम्मेवार बनाई घटी प्राप्त एक करोड ७६ लाख ३३ हजार रुपैयाँ अनियमति भएकोले यो रकम  पनि असूल गर्नुपर्दछ ।
 

प्रतिक्रिया दिनुहोस