aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
पानी जहाज, डुङगाहरू पानी जहाज कार्यलयमा दर्ता हुनुपर्ने

अब पानीजहाज कार्यालयमा डुंगाको लर्को

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
अब पानीजहाज कार्यालयमा डुंगाको लर्को

भू-परिवेष्टित मुलुक नेपालमा पानी जहाज चलाउने हावादारी सपना देखेको भन्दै प्रधानमन्त्री केपी ओलीको मजाक उडिरहेको बेला आगामी आर्थिक वर्षबाट पानी जहाज सञ्चालनमा आउने दाबी पानी जहाज कार्यलयले गरेको छ ।

नेपालले भारतीय सीमासम्म आफ्नै पानी जहाज ल्याउने विषय लामो समयदेखि चर्चामा छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानी जहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

सरकारले यो चर्चालाई यथार्थमा बदल्न पानी जहाज कार्यलयसमेत स्थापना गरीसकेको छ । उक्त कार्यालयले योजना कार्यान्वयनको लागी प्रतिवेदन बनाई उक्त प्रतिवेदन जेठ ९ नै गते भौतिक निमार्ण तथा यातायात मन्त्रालयमा बुझाईसकेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को बजेट मन्तव्यको क्रममा अर्थमन्त्रि युबराज खतिवडाले 'जलयातायातलाई मुलुकको आन्तरिक र वाह्य आबद्धता बढाउने सबै भन्दा किफायती यातायातको साधनको रूपमा विकास गर्न आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी गर्न तथा नारायणी र कोसी नदीमा जलयातायात पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको'  घोषणा गरे संगै पानी जहाजले फेरी चर्चा पाएको हो  ।

हाल पानी जहाज कार्यलयल नियामवली बनेर आएको १५ दिनमा सुचना निकाल्ने र चालकलाई अनुगमन गराउने लगायतका तयारी गरिरहेको छ । 'मन्त्रालयले  निकालेको सुचना र नियम  अनुसार पानी जहाज सञ्चालन हुन्छ', पानी जहाज कार्यलयका सिडिई विपिन राजभण्डारीले बताए ।

प्राप्त जानकारी अनुसार पानी जहाज कार्यलयले नियमावलीको २७ वटा फरम्याट मस्यौदा  बनाई मन्त्रालयमा पेस गरेको छ । जसमा नेपालमा आन्तारिक जलमार्ग व्यवस्थापनको लागि अवधारण पत्र, कानुनी आधार, पूर्वाधार , प्राविधिक दक्षता, जस्ता आवश्यक बिषयहरु समेटिएका छन् ।

पानी  जहाज कार्यलयमा निरन्तर काम गर्ने  ९ जना कर्मचारीहरू रहेका छन् । तर, मुख्य काम गर्ने इन्जिनियर भने अहिलेसम्म नभएको भण्डारीको भनाई छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको पानी जहाज कार्यालयमा हाल उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ ।

सो कार्यालयको लागि मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

पानी जहाज कार्यलयमा तिन महिनाको बीचमा १० जना 'म पानी जहाज चलाउँछु' भन्दै त्यसको अनुमति प्रक्रिया बुझ्न  आएको भण्डारीले बताए ।  अब चल्ने पानी जहाज अनुभव भएको वा चलाईरहेको मान्छेलाई दिने निर्णय भएको पानी जहाज कार्यलयले जनाएको छ ।

जलमार्गमा सञ्चालन हुने तथा  भईरहेका जल परिवहनका साधनलाई सुरक्षित, सहज, भरपर्दो तथा व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत् सम्बन्धि कानुनको आवश्यकता छ । मालसामान बोक्ने, वा कस्तो जहाज ल्याउने भन्ने सम्बन्धमा अहिलेसम्म कुनै स्पष्टता छैन । त्यसलाई सञ्चालन गर्ने मोडालीटीको बारेमा पनि सरकारले अझ सम्म कानुनी व्यवस्था गरिसकेको छैन ।

कार्यालय भने नेपालमा ५ सय टन देखि २ हजार टन क्षमता भएको पानी जहाज सञ्चालन गर्ने सोचमा छ । मन्त्रालयबाट जहाज चलाउन सबै कानुनी अड्चन खुल्ने गरि ऐन आएपछि नेपालभित्र जहाज चलाउन बाटो खुल्ला हुने भण्डारीले बताए । तर, ठुलो जहाज ल्याउने सम्भावना भने उनले नकारे ।  भण्डारीले भने ‘ ठुलो जहाज नेपाल भित्र आउछ भन्नु कल्पना मात्र हो’।

अहिले देशभर साना ठुला गरेर १० हजार संख्यामा डुङगाहरू रहेका छन । केही डुङगाहरू स्थानीय तहमा दर्ता भएका छन् भने कतिपय  डुङगाहरू दर्ता नै नगरी संचालनमा छन् । अब सबै डुङगाहरू पानी जहाज कार्यलयमा दर्ता हुनुपर्ने भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस