
अमेरिकामा प्रकाशित एउटा खबरले भारतको राजनितिमा निकै ठुलो हलचल मच्चाएको छ । फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबर अमेरिकाको चर्चित पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएपछि सो विषयले भारतमा तहल्का मच्चाएको हो ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको सामाजिक द्धैष र घृणा फैलाउने खालका अभिव्यक्तिमाथि सामाजिक सञ्जालहरु (फेसबुक–ह्वाट्सएप)ले कडाइ नगरेको हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको रिपोर्टमा उल्लेख छ ।
सो समाचारमा सामाजिक सञ्जालमाथि भारतमा भाजपाको नियन्त्रण रहेको र उनीहरुका आपत्तिजनक अभिव्यक्तिहरुमा पनि फेसबुक–ह्वाट्सएपले आफ्नो स्थापित नियम विपरित छुट दिने गरेको दाबी गरिएको छ ।
अमिरिकी पत्रिकामा प्रकाशित सो खबरलाई सन्दर्भ बनाएर कांग्रेस नेता राहुल गान्धीले भाजपा र राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) ले भारतमा फेसबुक र ह्वाट्सएपमाथि नियन्त्रण गर्ने गरेको आरोप लगाएका छन्। विगतमा भाजपाले सोही माध्यमबाट झुठा खबर र घृणा फैलाएर मतदातालाई दिग्भ्रमित पार्दै चुनाव जितेको आरोप गान्धीले लगाएका छन् । उनले फेसबुकको वास्तविकता अमेरिकी सञ्चारमाध्यमले सर्वसाधारण समक्ष ल्याएको उल्लेख गरेका छन् ।
गान्धीको सो आरोपको खण्डन गर्दै भाजपाका वरिष्ठ नेता तथा सञ्चार सूचना प्रविधि मन्त्री रविशंकर प्रसादले राहुल गान्धीलाई जवाफ दिदै ट्विट गरेका छन् । उनले भनेका छन्, ‘जो पराजितहरु आफ्नै पार्टी भित्रका मानिसलाई पनि प्रभावित गर्न सक्दैनन् उनीहरु यो कुरा भन्दै छन् कि पूरै विश्वमा भाजपा र आरएसएसको नियन्त्रण छ ।’
फेसबुकले सामाजिक सद्भाव विथोल्ने तथा विग्रह निम्त्याउने खालका पोस्टहरु नियम गर्नका लागि बनाएको नीतिहरु भाजपा र आरएसएसमाथि लागु नहुने गरेको प्रमाण भेटिएको सो खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस