aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखेपछि भरतपुर अस्पतालको सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखेपछि भरतपुर अस्पतालको सेवा बन्द

चितवन । भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।

अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ ।

यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस