aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
वैदेशिक रोजगारी

१६ लाख नेपाली स्वदेश फर्कन खोज्दै गर्दा उद्दार उडान रद्द, अब के हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
१६ लाख नेपाली स्वदेश फर्कन खोज्दै गर्दा उद्दार उडान रद्द, अब के हुन्छ

काठमाडौं । वैदेशिक रोजगारीमा गएका २८ देखि ३० लाख नेपालीमध्ये करिब १६ लाख नेपालीले स्वदेश फर्कन चाहेको देखिएको छ । वैदेशिक रोजगारीमा गएका १६ लाख मानिस नेपाल फर्कन चाहिरहेका बेला सरकारले भने उद्दार उडान बन्द गरेको छ । तत्काल नेपाल फर्कन चाहने तथा हातमा टिकट लिएर बसेका मानिस नै करिब ४० हजारको हाराहारीमा रहेको बुझिएको छ ।

वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक दिन दुईदेखि तीन सय मानिसको भिडा सकिन्छ र उनीहरू फर्कने भनेको स्वदेश नै हो । अहिले तत्काल नेपाल फर्कन चाहने तथा हातमा टिकट लिएर बसेका करिब ३० देखि ४० हजार मानिस  भएको विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘ कोभिड तथा भिसा सकिएर अन्य कारणले स्वदेश फर्कन चाहने धेरै वैदेशिक रोजगारीमा रहेका मानिस स्वदेश र्फकन चाहिरहेका छन्,’ उनले भने  । 

पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणसँगै देशका आधा स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्न थालेको र क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएकाको अवस्थालाई मध्येनजर गरेर कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले उद्दारका उडानहरू रद्द गर्न निर्देशन दिएको हो । 

यसैबीच श्रम अवधि सकिएर नेपाल फर्कन चाहने, तर लकडाउका कारण विदेशमा बस्न बाध्य भएका ३५ हजार नेपाली अलपत्र परेका छन् । नयाँ श्रम स्वीकृतीमा गएका तथा पुनः श्रम स्वीकृतीमा गएका तर, कोभिडका कारण रोजगारी गुमाएका ८ लाख नेपाली विदेशी भूमिमा अलपत्र परेका छन् । 

यी बाहेक भिजिट भिसामा जाने तथा अवैधानिक तरिकाले विदेशमा बसेका नेपालीको जमात पनि करिब ३५÷३६ हजारको हाराहारीमा छन् । अब उडानै रद्द भएपछि विदेशी भूमीमा अलपत्र परेका तथा स्वदेश फर्कन चाहने नेपालीलाई कसरी स्वदेश फर्काउने चिन्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ । 

यता सरकारले भने उद्दार गरेर आएका नेपालीलाई होटलको व्यवस्थापनदेखि सुरक्षित रुपमा ल्याउनेसम्मको काम गर्नुपर्ने भएकोले हाललाई उडान स्थगित गरेको बताएको छ । पर्यटन मन्त्रालयले अवाश्यक व्यवस्था मिलाएर एकदुई दिनमै पुनः उडान खुलाउने निर्णय पनि हुन सक्ने बताएको छ । 

नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी भारतमा गएका छन् भने मलेसियामा चार लाख ६५ हजार, कतारमा चार लाख ३६ हजारभन्दा बढी रोजगारीमा रहेका छन् । साउदीमा अरेबियामा साढे तीन भन्दा लाखभन्दा बढी रोजगारीमा रहेका छन् भने युएईमा २ लाख २७ भन्दा बढी रोजगारीमा रहेका छन् । 

यो बाहेक अध्ययन, व्यापार तथा पारिवारिक भेटघाटको लागि करिब ७ लाख नेपाली विदेशमा रहेका छन् । यी बाहेक कुबेतमा साढे ८२ हजार, दक्षिण कोरियामा ३४ हजार, जापान ३४, बहराइन, अष्ट्रेलिया साढे १५ हजारलगायतका वैदेशिक रोजगारी रहेका छन् । ओमान साढे ८ हजार, इजरायल साढे तीन हजार, लेबनानमा ८ सयभन्दा बढी वैदेशिक रोजगारीमा रहेका छन् । त्यसैगरी अन्य देशमाा एक लाख ३५ हजारभन्दा बढी वैदेशिक रोजगारीमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस